अफगानिस्तानमा चार प्रहरी र ८८ लडाकू मारिए

Posted on: 12 Jul, 2018

असार २८, काबुल | आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी चार प्रहरी र कम्तीमा ८८ लडाकू मारिएका छन् । 

स्थानीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पूर्वी पक्टिआ प्रान्तमा भएको घटनामा ५१ जना तालिबान लडाकूको मृत्यु भएको छ ।

सुरक्षाकर्मीहरुसँग भएको झडपका क्रममा अरु कैयौँ लडाकूहरु घाइते पनि भएको समाचारमा जनाइएको छ । 

अहमद अबाद जिल्लाको बान्ड ए मिचाल्घो क्षेत्रमा बिहीबार केही घण्टाको अन्तरालमा भएका हिंसाका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरीका प्रान्तीय प्रवक्ता सरदार वाली तवासामले सिन्ह्वालाई जानकारी दिनुभयो । 

लडाकूहरूले सुरक्षा चौकीहरुमा आक्रमण गरेपछि झडप भएको हो । लडाकूहरूको आक्रमणमा परी प्रहरीतर्फ पनि चार जना मारिएका छन् भने छ जना घाइते भएका छन् । 

त्यसैगरी उत्तरी जावज्जान प्रान्तमा २८ जना इस्लामिक स्टेट (आइएस) लडाकूहरू मारिएका छन् । सो प्रान्तमा नौ जना तालिवान लडाकूको पनि मृत्यु भएको छ । 

घटनामा परी १६ जना आइएस लडाकू र ११ जना तालिवान लडाकू घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । रासस÷सिन्ह्वा

यस बिषयमा तपाइको प्रतिक्रिया...!