इन्डोनेसियामा भूकम्पबाट मर्नेको संख्या ५५५ पुग्यो

Posted on: 24 Aug, 2018

भदौ ८, जकार्ता | इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनको संख्या ५५५ पुगेको छ । साथै यस भूकम्पमा परी करिब एक हजार ५०० घाइते भएका छन् भने लाखौ व्यक्ति घरवारबिहिन भएका छन् । 

विदा मनाउनको लागि प्रख्यात बाली र सुन्दर स्थल लोम्बोकका जुलाई २९ र अगष्ट ५ मा शक्तिशाली भूकम्प गएको थियो । गत अगष्ट ५ आइतबारका दिन गएको यस भूकम्प ६.९ म्याग्नीच्युडको मापन गरिएको थियो । 

देशको उत्तर भागमा रहेको लोम्बोक र छिमेकमा पर्ने प्रान्त सुम्बावा यस भूकम्पबाट अत्यन्त प्रभावित भएको थियो । यसै क्षेत्रका धेरै व्यक्तिहरु मारिएका इन्डोनेसिया प्रकोप नियन्त्रण विभागले जनाएको छ । सो भूकम्पमा परी मारिएका व्यक्तिहरुका प्रायःजसो भवन भग्नावशेषमा पुरिएका थिए । 

भूकम्पको त्रासको कारण अझै पनि तीन लाख ९० हजार व्यक्ति विस्थापित रहेका प्रकोप नियन्त्रण निकायले जानकारी दिएको छ । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध हुनुका साथै ठाउँठाउँमा पहिरो गएको छ । आवासीय र कार्यालय भवनमा ठूलो क्षति पुगेको बताइएको छ । बेलाबेला आइरहने परकम्पका कारण स्थानीयबासीमा त्रास छाएकाले अझै पनि उनीहरु घरभित्र बस्न सकेका छैनन् ।

केही साताको अन्तरालमा लोम्बोकमा एकपछि अर्को शक्तिशाली भूकम्प गएपछि त्यहाँ ठूलो जनधनको क्षति भएको हो । 

यी शक्तिशाली भूकम्पबाट करिब ५५५ मानिसको मृत्यु भइसकेको छ । अधिकारीले यो सङ्ख्या अरु बढ्न पनि सक्ने बताएका छन् । दुई साता अघिकै भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला गत अगष्ट १९ आइतबार फेरि अर्को शक्तिशाली भूकम्प गएको थियो । 

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार आइतबार साँझ गएको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको थियो । त्यस्तै आइतबारै साँझ अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका गएका थिए । यी सबै भूकम्प लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका थिए । 

सन् २००४ डिसेम्बरमा पनि इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको र त्यसबाट सिर्जित सुनामीबाट एक दर्जन मुलुकका तटीय क्षेत्रका दुई लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!