सरकारी कार्यक्रममै प्रतिनिधीमण्डलका सदस्यको पर्स चोरिरहेको भिडियो सार्वजनिक भएपछि... (भिडियो)

Posted on: 02 Oct, 2018

एजेन्सी | आधिकारिक सरकारी कार्यक्रमका दौरान कुवेती प्रतिनिधीमण्डलका एक सदस्यको पर्स चारिरहेको भिडियो सार्वजनिक भएपछि एक शीर्ष पाकिस्तानी सरकारी अधिकारीमाथि यतिबेला अनुसन्धान भइरहेको छ ।

यद्यपि, चोरीका आरोपी जरार हैदर खान भनेर मुलधारको पत्रिका र सामाजिक सञ्जालमा भाइरल गरिएको तस्विर भने अर्कै व्यक्तिको भएको खुलासा भएको छ । उक्त तस्विर अमेरिका निवासी निर्दोष व्यक्तिको भएको बताइएको छ ।

सूचनामन्त्री फवाद चौधरीले हैदर पाकिस्तानको उद्योग तथा उत्पादन मन्त्रालयका एक सह–सचिव भएको जानकारी दिँदै कुवेती कुटनीतिज्ञको पर्स चोरी मामिलामा अनुसन्धान भइरहेको बताए ।

हैदर पाकिस्तानको निजामती सेवा उच्च ओहदामा गनिने बीएस–२० अधिकारी हुन् ।  उनलाई हाललाई निलम्बित गरिएको छ । 

आर्थिक मामिला डिभिजनको टेबलबाट आरोपीले बेवारिसे पर्स उठाइरहेको ६ सेकेण्ड लामो सिसिटिभी फुटेज सार्वजनिक भएको थियो ।

यो मामिलाबारे त्यतिबेला बाहिर आयो जब भविष्यमा व्यापारबारे नयाँ सरकारसँग छलफल गर्न पाकिस्तान आएको कुवेती प्रतिनिधिमण्डलले आफ्नो एक कुटनीतिज्ञको पर्स हराएको उजुरी गर्यो ।

द डन पत्रिकाका अनुसार उक्त पर्समा उल्लेख्य मात्रामा कुवेती दिनार रहेको थियो । अधिकारीहरुले सिसिटिभी फुटेज अध्ययन गरेपछि आरोपीको नाम सार्वजनिक गरेका थिए ।

यता, पाकिस्तानी प्रेसका अनुसार कुवेती प्रतिनिधिमण्डल यस घटनाबाट निकै क्रुद्ध बनेका थिए । उनीहरुले दोषी पत्ता लगाउन माग गरेका थिए ।


गलत तस्विर

घटना सार्वजनिक भएपछि सिसिटिभी फुटेज मिडियामा भाइरल बन्यो । पाकिस्तानका ट्वीटर प्रयोगकर्ताले यस घटनाबाट आफूहरु लज्जित भएको बताए ।

यो विषय भारतीय समाजिक सञ्जाल प्रयोगकर्ताका लागि झन् ठूलो मसला बन्यो । ‘सानो देशका साना कर्मचारीले ठूला मानिसको पर्स देखेपछि यस्तै गर्छन्,’ धेरैले गिज्याए ।

यद्यपि, सामाजिक सञ्जाल र टेलिभिजनमा चोरी गर्ने व्यक्ति भनेर प्रकाशित गरिएको तस्विर जरार हैदर खान नभएर जाइद हैदरको भएको खुलासा भएको छ । उनी हाल वासिङटन डिसीमा स्टेट डिपार्टमेन्टमा रिस्क एनालिस्टका रुपमा कामगरिहेका छन् ।

धेरै मिडियाले उनको तस्विर गलत परेको भनेर सच्याएका छन् भने यो समाचार तयार गर्दासम्म केही मिडियाहरुले प्रकाशित गरेको भिडियोमा निर्दोष जाइदको तस्विर अझै पनि देखाइरहेको छ ।

यो घटनाले पाकिस्तान सरकारलाई लज्जित बनाएको छ । कुवेतको रिस शान्त गर्न सरकारले तत्कालै अनुसन्धान शुरु गर्यो ।

यद्यपि, द टाइम्सका अनुसार यसले कुवेत र पाकिस्तानबीच हुने भनिएको आर्थिक साझेदारीमा ठूलो धक्का लागेको छ । बिबिसी 


यस बिषयमा तपाइको प्रतिक्रिया...!