गाजा क्षेत्रमा तीनको मृत्यु, ३ सय ७६ जना घाइते

Posted on: 06 Oct, 2018

असोज २०, गाजा | प्यालेस्टाइन र इजरायलको विवाद भएको गाजा क्षेत्रमा शुक्रबार भएको झडपमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । 

घटनामा अन्य ३७६ जना घाइतेसमेत भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । 

मृत्यु भएका तीनै जना प्यालेस्टाइनी नागरिक हुन् भने प्रदर्शनमा हजारौँ प्यालेस्टाइनी प्रदशर्नकारी सहभागी भएका थिए । 

इजरायलसँगको सीमा क्षेत्रमा पर्ने पूर्वी गाजामा प्यालेस्टाइनीले प्रदर्शन सुरु गरेपछि प्रहरीले हस्तक्षेप गरेको समाचारमा जनाइएको छ । 

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वेद्राले तीन जना प्यालेस्टाइनीको मृत्यु भएको र तीमध्ये एक जना बच्चा पनि रहेको पुष्टि गर्नुभयो । 

उनीहरुको गाजा सहरमा इजरायली सुरक्षाकर्मीले प्रहार गरेको गोली लागी मृत्यु भएको अधिकारीले जनाएका छन् । 

घाइतेमध्ये १९२ जनालाई अस्पताल भर्ना गरिएको छ । तीमध्ये १२६ जनालाई इजरायली सुरक्षाकर्मीको गोली लागेको उहाँले जानकारी दिनुभयो । 

घाइतेमध्ये दुइजना स्वास्थ्यकर्मी, दुइजना पत्रकार पनि रहेका छन् । उनीहरुमध्ये केही महिला पनि रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!