दुई विमान एकआपसमा ठोक्किदा एक पाइलटको मृत्यु

Posted on: 05 Nov, 2018

कात्तिक १९, काठमाडौं | क्यानडामा एक सानो यात्रुवाहक विमान र अर्को विमान ठोकिँदा सानो विमानका पाइलटको मृत्यु भएको छ । 

प्रहरीका अनुसार, ओटावाबाट ३० किलोमिटर पश्चिममा रहेको कार्पमा आइतवार भएको दुर्घटनाको कारण पत्ता लागेको छैन । 

सानो यात्रुवाहक विमान सेस्नाको पाइलट एक्लै विमान उडाइरहेका थिए । उनलाई घटनास्थलमै मृत घोषित गरिएको छ । 

ट्रान्सपोर्ट क्यानडाका प्रवक्ताले अर्को विमान टर्बोप्रप पाइपर पीए–४२ लाई ओटावाको अन्तर्राष्ट्रिय विमानस्थल पठाइएको र त्यहाँ सुरक्षित अवतरण गरेको बताए । 

प्रवक्ताका अनुसार, घटनाको अनुसन्धान भइरहेको छ । 

संकटकालीन सेवालाई उद्धृत गर्दै सीबीसीले बताएअनुसार, पाइपर विमानका चालकले हवाई यातायात नियन्त्रकलाई सेस्नाले आफूलाई तलबाट ठक्कर दिएको र आफ्नो ल्यान्डिङ गीयर क्षतिग्रस्त भएको बताए । 

घटनामा पाइपर विमानका पाइलट र यात्रीलाई कुनै चोट पुगेको छैन । 

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!