अमेरिकाका राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का, हाउस अफ रिप्रेजेन्टिटिभ विपक्षीको कब्जामा

Posted on: 10 Nov, 2018

कात्तिक २४, काठमाडौँ | अमेरिकामा मंगलबार सम्पन्न निर्वाचनमा विपक्षी डेमोक्र्याटिक पार्टीले हाउस अफ रिप्रेजेन्टिटिभमा बहुमत हासिल गरेको छ । सिनेटमा भने ट्रम्पको रिपब्लिकन पार्टीले तीन सिट थप गर्दै आफ्नो बहुमत कायमै राखेको छ । 

पूर्ण मत परिणाम आउन बाँकी नै भए पनि हाउसमा डेमोक्र्याटिक पार्टीको बहुमत आउने पक्का-पक्कि भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो चुनावअघि ४४५ सदस्य रहेको हाउसमा रिपब्लिकन पार्टीको २३४ सिट थियो । डेमोक्र्याटिक पार्टीको २०१ सिट मात्र थियो । अहिलेसम्मको मतपरिणाम अनुसार डेमोक्र्याटहरुले नयाँ २४ सिट जित्दा रिपब्लिकनहरुले २४ सिट गुमाएका छन् । डेमोक्र्याटिक पार्टीले रिपब्ललिकनबाट ४० देखि ५० सिटसम्म छिन्न सक्ने देखिएको सञ्चार माध्यमले जनाएका छन् ।

यो मत परिणामले राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का पुग्ने अमेरिकी संचारमध्यमहरुको विश्लेषण छ । राष्ट्रपति ट्रंपले अब पहिले जस्तो एकलौटी रुपमा नीति, नियम तथा कानुन बनाउन पाउने छैनन् ।

अमेरिकामा कुनै पनि कानुन तथा बजेट अमेरिकी कंग्रेसका दुवै सदन सिनेट र हाउसबाट पारित हुनुपर्छ । हाउसमा बहुमत गुमाएपछि राष्ट्रपति ट्रम्पका हात बाँधिने छन् । उनले अब डेमोक्र्याटहरुको नियन्त्रणमा रहेको हाउसलाई मनाएर मात्र कानुन तथा बजेट पारित गर्न सक्नेछन् । राष्ट्रपति ट्रम्पको पछिल्लो दुई वर्षे कार्यकालमाथि जनमतसंग्रह मानिएको यो चुनावमा मतदाताहरूले राष्ट्रपतिमाथि नियन्त्रण राख्नेगरी अभिमत प्रकट गरेको टिप्पणी विश्लेषकहरूले गरेका छन् । यो मतपरिणामले डेमोक्र्याटहरूलाई उत्साहित पार्नेछ भने राष्ट्रपति ट्रम्पका लागि चिन्ता थप्नेछ । 

डेमोक्र्याटहरुले अमेरिकाका ठूला सहर तथा सहर वरिपरिका निर्वाचन क्षेत्रमा जित्न सफल भएका छन् भने रिपब्लिकनहरुले ग्रामिण क्षेत्रमा आफ्नो पकड कायमै राखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!