यमन ठूलो दुर्घटनाको खतरामाः राष्ट्रसङ्घ

Posted on: 01 Dec, 2018

मङ्सिर १५, एडेन (रासस/एएफपी) | विश्व शान्तिका लागि कार्यरत राष्ट्रसङ्घले यमनमा स्थायी शान्तिका लागि द्वन्द्वरत पक्षसँग आह्वान गरिरहेका समय राष्ट्रसङ्घ मानवीय सहायता प्रमुख मार्क लोककले शनिबार यमनमा ठूलो दुर्घटनाको खतरामा रहेको बताउनुभएको छ । 

सरकार पक्षधर समूहहरू तथा हुथी विद्रोहीबीच वन्दर्गाह शहर होडैडामा पछिल्ला दिनमा चर्किएको द्वन्द्वका कारण उक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई मानवीय सहयोगको खाँचो परिरहेका समय उहाँको भनाइ आएको हो । 

यमन महत्वपूर्ण दुर्घटनाको खतरामा रहेको छ, लोककले प्रभावित क्षेत्रको भ्रमण गरी फर्किनुभन्दा पहिले सञ्चारकर्मीसँग गरेको कुराकानीमा भन्नुभयो । 

उहाँले आफुले सन् २०१७को अक्टोबरमा यमनको भ्रमणमा गरेको र उक्त समयभन्दा अहिले यमनको स्थिति ज्यादै फरक रहेको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घले यसअघि पनि यमनमा मानवीय सङ्कट विश्वकै सबैभन्दा खराब अवस्थामा रहेको बताउँदै आएको छ । 

एडेनमा मैले भोकमरीको चपेटामा परेका बालबालिकामा रोग तथा खाद्यान्न अभाबका कारण निकै दुब्ला बालबालिकालाई देखेँ । हजारौँको सङ्ख्यामा रहेका उनीहरूले आफ्ना आँखा खोल्नसमेत नसक्ने अवस्थामा सार्वजनिक स्थलमा लडिरहेका ह्रदयविदारक घटनाहरू देखेँ । यहाँ तत्काल स्थायी शान्तिको स्थापना नगरिने हो भने यो अवस्था थप विकराल बन्ने देखिन्छ, उहाँले भन्नुभयो । 

यमनमा हुथी विद्रोही र सरकारबीचको द्वन्द्वका कारण १० हजारभन्दा बढी नागरिकहरूले ज्यान गुमाएका विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । तर विभिन्न मानव अधिकारवादी समूहले अहिलेसम्म यमनमा कम्तिमा ६० हजार नागरिकको ज्यान गुमेको बताउने गरेका छन् । यमनमा लाखौँ मानिस अन्तरिक तथा वाह्यरूपमा द्वन्द्वका कारण विस्थापित बनेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!