पोल्यान्डको खनिज क्षेत्र, कोइला नै जीवनको आधार: मासिक १८०० डलर कमाइ

Posted on: 02 Dec, 2018

माजा जारनेका | मङ्सिर १६, पोल्यान्ड (रासस/एएफपी)| “यो परिवारको कुरा हो । मेरो बुबा, मेरो हजुरबुबा खानीमा काम गर्नुहुन्थ्यो, त्यही काम मैले पनि गरिरहेको छु,” पोल्यान्डको दक्षिणी शहर केनुरोमा कोइला खानीमा काम गर्ने अर्काडिउज वोज्सीक बताउँछन् । 

उनी जीवनमा आइपर्ने खतरासँग जुधेर दिनहुँ खानीमा पुग्छन् । तैपनि, पोल्यान्डका कोइला खानीमा बाबुदेखि छोराहरु काममा जुटेका छन् । 

पश्चिमी युरोपमा कोइला खानीको पेशा ओझेलमा पर्न थालिसकेको छ, तर पोल्यान्डाको साइलेसियन कोइला क्षेत्रको चमक अझै मेटिएको छैन । बढी ज्याला र सरकारी सहयोगले कामदारलाई आकर्षिक गरिरहेको छ । पोल्यान्ड सरकारले समेत अर्थतन्त्रलाई स्वच्छ उर्जामा रुपान्तरण गर्नेतर्फ खासै पहल नगरेका कारण मजदूरहरुले काम पाइरहेका छन् । 

ब्रसेल्स, बर्लिन र पेरिसमा आजभोलि कोइला शत्रु हो । पृथ्वीको बढ्दो तापक्रमका लागि मुख्य भूमिका खेलेको दोषारोपण गरिएको कार्बन डाइअक्साइड यही कोइलाबाट सबैभन्दा बढी उत्पादन हुन्छ । तर, पोल्यान्डमा कोइला जीवनको आधार हो, र त्यसमा तत्कालै परिवर्तन हुने सम्भावना छैन । 

“यहाँ सिलेसियामा यो एउटा परम्परा हो,” ६५० मिटर (२१०० फिट) गहिराइमा रात्रिकालीन सिफ्टमा भर्खर काम गरेर बाहिर निस्कँदै गरेका ३६ वर्षीय वोज्सिक बताउँछन् । केनुरो कोइला खानी दिन र रात दुवै समय चल्छ । यहाँ चार सिफ्टमा काम हुन्छ । तर एउटा कुरा सबै सिफ्टमा लागू हुन्छ, त्यो हो जोखिम । 

“हो, हामी त्रसित हुन्छौं । दुर्घटनाहरु भइरहन्छन्, यो त कामको एक अभिन्न हिस्सा भइहाल्यो नि,” खानीको लिफ्टबाट माथि निस्किएका राडोस्ला रुमिनिस्की भन्छन् । “तर हामी भित्र काम गर्न जाँदा यो कुरालाई दैनिक रुपमा सम्झदैनौं,” ३७ वर्षीय रुमिनिस्कीले बताए । 

यसवर्ष हालसम्म पोल्यान्डमा २१ जना कोइला कामदारको मृत्यु भएको छ । गत वर्ष, १५ जनाको मृत्यु भएको थियो । सन् २०१४ मा सबैभन्दा बढी ३० जना मजदूरले ज्यान गुमाएका थिए । 

खतराको भरपाई गर्ने उपाय पनि छ, त्यो हो पैसा । 

“हो, मलाई तलबले नै आकर्षित गरेको हो किनभने अरु क्षेत्रको भन्दा यहाँ तलब बढी छ,” कोइला मजदूर कामिल गान्कोले बताए । यी ३३ वर्षीय मेसिन अपरेटरले आफूले पाइआएको तलब बताउन चाहेनन्, तर मजदूरले प्रति महिना एक हजार ६०० युरो (१८०० डलर) सम्म कमाउन सक्छन् । 

यो रकम औसत पोल्यान्डको ज्याला ८१३ युरोभन्दा दोब्बर हो । 

मजदूरहरुले कम्युनिष्ट शासनकालमा व्यवस्था गरिएका विभिन्न किसिमका सुविधा पनि हालसम्म उपभोग गर्न पाएका छन् । जस्तै, हरेक वर्ष दुई महिनाको अतिरिक्त तलब । यो सुविधा हरेक वर्षको डिसेम्बर र फेब्रुअरीमा वितरण गरिन्छ । 

यस्तै, हरेक मजदूरले हरेक वर्ष आठ टन कोइला घर लैजान पाउँछन् । धेरै घरपरिवार खनिज इन्धनमा निर्भर रहेकाले यो कोइलाले उनीहरुलाई धेरै राहत पुग्ने गरेको छ । 

कोइला खानीमा २५ वर्ष काम गरिसकेका मजदूरले सुविधा सहित अवकाश पाउँछन् । तर कतिपयका लागि यो केही चाँडो पनि हुन सक्दछ । 

“मेरा पतिको अवकाश पाउनु आठ महिना अघि मृत्यु भयो,” अगाटा कोवाल्जीकले बताइन् । कोइला खानी विधवा संघ पनि उनले खोलेकी छिन् । “कोइला खानीका व्यवस्थापक र एकजना मनोविज्ञानवेत्ताले पतिको मृत्युको खबर मलाई दिएका थिए ।” पतिको निधनका बाबजूद उनका छोराहरुले काम छाडेका छैनन् । 

“मेरा चार जनामध्ये दुई छोराले निरन्तर काम गरिरहेका छन् । सबैभन्दा ठूलो छोरो जमिनमुनि काम गर्दछ । ऊ रातिको सिफ्टमा काम गर्न रुचाउँछ, र यस्तो बेलामा ज्याला पनि बढी हुन्छ,” उनी बताउँछिन् । 

“यहाँ अरु काम पनि पाइन्न । यहाँ ठूला रोजगारदाता पनि छैनन् । खानी बन्द भए यी हजारौंले के काम गर्ने होला ? अहिलेलाई सिलेसियामा अरु कुनै विकल्प छैन,” उनी थप्छिन् । 

राज्य नियन्त्रित जेएसडब्लु कम्पनी मातहत सञ्चालित चारवटा कोइला खानीमध्ये केनुरो एउटा हो । यो कम्पनी युरोपमै उच्च गुणस्तरको कोइला उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हो । यो कोइला मुख्य रुपमा स्टील उद्योगमा खपत हुन्छ । 

स्टक एक्सचेन्जमा पनि सूचीकृत जेएसडब्लुमा करिब २७ हजार कामदार छन् । पोल्यान्डामा यो नै सबैभन्दा बढी कामदार भएको कम्पनी हो । 

यस कम्पनीले अरु दुईवटा कोइला खानी क्षेत्रबाट उत्खनन् गर्ने सोच बनाएको छ । यहाँको कोइलाको अधिकांश हिस्सा युरोपेली बजारमा बिक्री हुन्छ । जेएसडब्लु पनि पोल्यान्डमा हुने राष्ट्रसंघीय कोप–२४ को विश्व जलवायू सम्मेलन एउटा मुख्य प्रायोजक पनि हो । 

यहाँको कोइला खानीमा युक्रेनका साथै चेक रिपब्लिक, हङ्गेरी, स्लोभाकीया र स्पेनबाट पनि मजदूरहरु कामका लागि आउने गरेका छन् । “युरोपेली युनियनले पोल्यान्डका खानी बन्द गर्न चाहेको छ । तर त्यसपछि के होला ? पोल्यान्डमा हावा वा सौर्य ऊर्जा छैन,” ट्रेड युनियनमा आबद्ध काजीमिर्ज ग्राजकारेकले बताए । 

“यी सबै मानिस कहाँ जान्छन् ? उनीहरुले कहाँ काम गर्ने हो ? प्रत्येक खानी मजदूरले सेवा क्षेत्रमा चारवटा रोजगारी सिर्जना गरिरहेको छ ।” 

पोल्यान्डले हाल ठूलो, नयाँ कोइलायुक्त ऊर्जा उत्पादन केन्द्र बनाउँदैछ र यसलाई ठूलो परिमाणमा कोइलाको आवश्यकता पर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!