यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता बिहीबार स्वीडेनमा शुरु हुँदै

Posted on: 06 Dec, 2018

मङ्सिर २०, रिम्बो (स्वीडेन) - (रासस/एएफपी) | चार वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने उपायको खोजी गर्न यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता बिहीबार स्वीडेनमा शुरु हुँदैछ । 

संयुक्त राष्ट्रसंघको अगुवाईमा भइरहेको यो शान्तिवार्ता सन् २०१६ यता पहिलोपटक हुन लागेको हो । त्यसबखत एकसय दिनभन्दा बढी चलेको वार्ताले युद्ध अन्त्य गर्न असफल भएको थियो । उक्त युद्धका क्रममा १० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने एक करोड ४० लाखभन्दा बढी मानिस भोकमरिको चपेटामा परेका छन् । 

यमनमा साउदी अरेबिया समर्थित सरकार र इरान समर्थित हुथी बिद्रोहीबीच सत्ताका लागि सशस्त्र सङ्घर्ष जारी छ । 

राष्ट्रसंघ स्रोतका अनुसार युद्धरत दुबै पक्षबीच विश्वासको वातावरण निर्माण गर्ने प्रयत्न भइरहेको छ । राष्ट्रसंघले यमनमा जारी हिंसात्मक एवं सशस्त्र द्वन्द्वले मानवीय सङ्कट निम्त्याएको जनाएको छ । पछिल्ला वर्षहरुमा फैलिएको भोकमरि, रोग र युद्धका साथै बालसैन्य भर्नाले यमन आक्रान्त छ । 

स्रोतका अनुसार हुथी बिद्रोहीहरुले साना अन्तर्राष्ट्रिय विमानस्थल खुला गर्न अनुरोध गर्ने अपेक्षा गरिएको छ । साउदी अरेबीया समर्थित हवाई आक्रमणमा उक्त विमानस्थल क्षतिग्रस्त भएका कारण हाल बन्द अवस्थामा छ । साउदी गठबन्धनले यमनको हवाई क्षेत्रमा नियन्त्रण कायम गरिरहेका छन् । 

सरकारी प्रतिनिधिमण्डल स्रोतका अनुसार राष्ट्रपति अबेड्राब्बो मन्सुर हादीका प्रतिनिधिहरुले विद्रोहीले बिछ्याएका बारुदी सुरुङको विस्तृत नक्सा उपलब्ध गराउन आग्रह गर्नेछ । 

दुबै पक्षका स्रोतले यमनमा तत्काल युद्धबिरामका लागि आग्रह गर्ने र मानवीय सहायता उपलब्ध गराउन मार्ग खुला गर्ने विषयलाई उठाउनेछन् । 

यस पटकका वार्ता स्वीडेनको स्टकहोमबाट ६० किलोमिटर उत्तरमा हुनेछ । बाह्र सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व यमन सरकारका विदेशमन्त्री खालेद अल–यमनीले गर्नुभएको छ । उहाँ बुधबार साँझ स्टकहोम पुग्नुभएको छ । 

यसअघि राष्ट्रसंघले सेप्टेम्बरमा वार्ता गर्नेगरी पहल गरेपनि अन्तिम समयमा सुरक्षाको कारण दर्शाउँदै हुथी बिद्रोहीहरु वार्ताबाट अलग भएका थिए । 

सरकार र हुथीबीच मङ्गलबार मात्र आआफ्ना नियन्त्रणमा रहेका कैदीबन्दी मुक्त गर्न सहमत भएका थिए । स्वीडेन वार्ता लगत्तै अन्तर्राष्ट्रिय रेडक्रस समितिको रोहबरमा ती कैदीबन्दी आदान प्रदान गरिनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!