अमेरिकामा हत्या अभियोग लागेका एक व्यक्तिलाई करेन्ट लगाएर मृत्युदण्ड

Posted on: 07 Dec, 2018

मङ्सिर २१, वासिङटन | विगत ३६ वर्षदेखि मृत्युदण्ड सजायको पर्खाइमा रहेका एक व्यक्तिलाई बिहीबार अमेरिकाको टेनेसी राज्यमा करेन्ट लगाएर मृत्युदण्ड दिइएको छ । 

टेनेसीको नेसभिलस्थित कारागारमा ६१ वर्षीय डेभिड अर्ल मिलरलाई बिहीबार बिहानै करेन्ट लगाएर मृत्युदण्ड दिइएको अधिकारीहरुले जानकारी दिएका छन् । मिलरमाथि मानसिक रुपमा अशक्त एक महिलालाई कुटपिट र चक्कु प्रहार गरी हत्या गरेको अभियोग लागेको थियो । 

अमेरिकामा एक महिनाको अवधिभित्रै विद्युतीय करेन्ट लगाएर मृत्युदण्ड दिइएको यो दोस्रो घटना हो । सन् २०१३ यता मृत्युदण्ड दिने प्रचलन रोकिएको थियो । 

मिलरले सन् १९८० मा २३ वर्षीया ली स्टानडाइफर नाम गरेकी शारीरिक रुपमा अशक्त महिलाको हत्या गरी एकजना पादरीको घरनजिक गाडिदिएका थिए । मिलरले मे २०, १९८१ मा हत्याको आरोप स्वीकार गरेका थिए । 

अदालतले मिलरमाथि सन् १९८२ मा मृत्युदण्डको फैसला गरेको थियो, तर सन् १९८७ मा मुद्दाको पुनः सुनुवाई शुरु भएको थियो । त्यसपछि मिलरका तर्फबाट मृत्युदण्डको फैसलामाथि पुनर्विचार गर्न पटकपटक आग्रह गरिए पनि सबै अपिल खारेज गरिएका थिए । 

टेनेसी राज्यमा मृत्युदण्ड दिँदा घातक सुईमा प्रयोग गरिने रसायनका बारेमा विवाद भएपछि केही समय मृत्युदण्डका कारबाहीहरु रोकिएका थिए । तर राज्यले हालैमात्र मृत्युदण्डको कार्यविधिलाई पुनः स्वीकृत गरेको छ । त्यसयता मिलर बाहेक दुई जनाले मृत्युदण्ड पाइसकेका छन् । 

अमेरिकी सर्वोच्च अदालतले समेत अन्तिम पटकको पुनरावलोकनलाई खारेज गरेको थियो । 

अमेरिकामा अदालतबाट सजाय भएपनि मृत्युदण्ड पाएको अवधि औसतमा १५ वर्षको फरक हुने गरेको छ । (रासस/एएफपी)

यस बिषयमा तपाइको प्रतिक्रिया...!