कोइला खानीमा बाढी पस्यो, कम्तिमा १३ जना मजदूरको मृत्यु भएको आशङ्का

Posted on: 14 Dec, 2018

मङ्सिर २८, नयाँ दिल्ली । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् ।

खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका कारण कामदारहरु भित्रै थुनिएकाले उनीहरु सबैको मृत्यु हुन सक्ने आशङ्का गरिएको छ ।

दर्जनांै अरु कामदारले बाढीको पानी फाल्न कोसिस गरिरहेका छन् । मेघालय राज्यमा भएको वर्षापछि बिहीबार बिहान सबेरै खानीमा पानी पसेको थियो । खानीमा बेपत्ता भएकाहरुको खोजी र उद्धार कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारी लेथिन्द्रा सङ्गमाले जानकारी दिनुभयो ।

भारतको एक अदालतले सन् २०१४ पछि सो इलाकामा कोइला खानी खोल्नको लागि प्रतिबन्ध लगाएको थियो । वातावरणकर्मीहरुले पानी दूषित हुनुको प्रमुख कारण नै यी कोइला खानीहरु रहेको भन्दै खानीमा प्रतिबन्ध लगाउन माग गरिरहेका थिए ।

सरकारी प्रतिबन्धका बाबजूद त्यस इलाकामा अबैध रुपमा अव्यवस्थित कोइला खानी सञ्चालन हुनेक्रम जारी रहेको सरकारी अधिकारीको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!