आपतकाल घोषणा अहिल्यै नगर्ने राष्ट्रपति ट्रम्पको घोषणा

Posted on: 13 Jan, 2019

पुस २९, वासिङटन | संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सङ्घीय कार्यालयहरु आंशिक बन्द भइरहेको सन्दर्भमा त्यसलाई खुलाउन आफूले आपतकालीन स्थितिको घोषणा नगर्ने बताउनुभएको छ । 

बजेट अभावमा धेरैवटा अमेरिकी सङ्घीय कार्यालयहरु बन्द भएको आइतबारसम्म २३ दिन पुगिसकेको छ । राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न माग गर्नुभएको करिब ६ अर्ब अमेरिकी डलर बजेट संसदले पारित नगरे बजेट नै स्वीकृत नगर्ने अडान राख्दै आउनुभएको छ । 

तर, अमेरिकी तल्लो सदनमा बहुमतमा रहेको विपक्षी डेमोक्र्याट पार्टीले पर्खाल निर्माणका लागि राष्ट्रपतिले माग गर्नुभएको रकम कुनैपनि हालतमा पारित गर्न नसक्ने बताएका छन् । उनीहरुले पर्खाल निर्माणको कार्य “अनुत्पादक र खर्चिलो” भन्दै मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीबाट अमेरिकाको आन्तरिक सुरक्षामा कुनै खतरा नरहेको दाबी गरिरहेका छन् । 

राष्ट्रपति ट्रम्पले भने मध्य अमेरिकी मुलुकबाट अमेरिका प्रवेश गरेका आप्रवासीका कारण अमेरिकाको आन्तरिक सुरक्षामा ठूलो खतरा रहेको बताउनुभएको छ । उहाँले मध्य अमेरिकाबाट लागूऔषध भित्रिएको, हत्याहिंसा बढेको, सामाजिक विकृति र विसंगति बढेको आरोप लगाउँदै आउनुभएको छ । 

आपतकालीन स्थिति घोषणा गरी बजेट छुट्याउन किन ढिलाई गरेको भनी फक्स न्यूजले राखेको जिज्ञासामा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “म विपक्षी डेमोक्र्याटिक पार्टीका सांसदलाई अझै केही समय दिन चाहन्छु । मेरो विचारमा उनीहरुले अवश्य जिम्मेवारीका साथ निर्णय लिनेछन् ।” 

अमेरिकामा सङ्घीय कार्यालयहरु बजेट अभावमा यति लामो अवधिसम्म बन्द भएको यो पहिलो घटना हो । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा सन् १९९५–९६ मा २१ दिनसम्म अमेरिकी सङ्घीय कार्यालयहरु बन्द भएका थिए । 

राष्ट्रपति ट्रम्पले आफ्नो प्रस्ताव ठीक रहेको भन्दै शनिबार धेरैपटक ट्वीट गर्नुभएको थियो । दक्षिणी सीमामा जारी ठूलो मानवीय सङ्कट अन्त्य गर्न पनि बजेट आवश्यक रहेको उहाँको भनाइ छ । 

“डेमोक्र्याट सांसदहरुले यो समस्या १५ मिनेटमा सुल्झाउन सक्छन्,” उहाँले एउटा ट्वीटमा भन्नुभएको छ । लगत्तै अर्को ट्वीटमा उहाँले भन्नुभयो, “डेमोक्र्याट साथीहरुलाई पर्खेर हामी ह्वाइट हाउसमा बसेका छौं । हामी पनि लामो छुट्टीमा जान चाहन्छौं । म पर्खाल सहितको बजेटमा हस्ताक्षर गर्न ह्वाइट हाउसमा प्रतिक्षारत छु ।” 

बजेट स्वीकृत नभएको परिणामस्वरुप आठ लाख कर्मचारी तलबविहीन भएका छन् । बजेट अभावमा सङ्घीय जाँच ब्यूरो, एयर ट्राफिक कन्ट्रोलर र सङ्ग्रहालयमा कार्यरत कर्मचारीले शुक्रबार तलब पाएनन् । 

ह्वाइट हाउसमा शुक्रबार भएको एक बैठकमा राष्ट्रपति ट्रम्पले भन्नुभएको थियो, “यदि डेमोक्र्याटले बजेट पारित नगर्ने हो भने म राष्ट्रिय आपतकाल घोषणा गर्नेछु । मसँग त्यस्तो घोषणा गर्ने पूर्ण अधिकार छ ।” 

ट्रम्पले उक्त कदम आफ्नै लागि घातक हुने थाहा पाउनु भएको छ किनभने त्यस्तो कदम विरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्ने निश्चित छ । विपक्षी डेमोक्र्याट पार्टीले राष्ट्रपतिबाट बिना आधार आपतकाल घोषणा गरिए त्यो राष्ट्रपतिबाट संविधान उल्लङ्घनको घटना हुने बताउँदै आएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!