विमानसँगै हराइरहेका अर्जेन्टिनी खेलाडी शालाको त्यो अन्तिम सन्देश !

Posted on: 23 Jan, 2019

माघ ९, एजेन्सी । इंग्लिस च्यानलमा विमानसँगै बेपत्ता हुन अघि एमिलियानो शालाले आफ्नो साथीहरुलाई पठाएको अडियो सन्देश सार्वजनिक भएको छ । 

उक्त सन्देशमा कार्डिफ सिटी क्लबको किर्तिमानी रकममा अनुबन्ध भएका शालाले आफूलाई ‘डर लागिरहेको’ बताएका छन् ।


नान्टेसबाट वेल्स आउने क्रममा उनी सवार विमान बेपत्ता भएको थियो । उनीसँगै पाइलट पनि बेपत्ता रहेका छन् ।

अर्जेन्टिनी पब्लिकेसन ‘ओले’ले सार्वजनिक गरेको ह्वाटस्एप सन्देशमा २८ वर्षीय शालाले आफ्ना साथीहरुसँग विमान र उडानबारे चिन्ता व्यक्त गरेका छन् ।

‘हेलो, मेरा साना भाईहरु, तिमीहरु के गर्दैछौ ? म निकै थकित छु । म नान्टेसमा काम गर्दै थिएँ र यो कहिल्यै सकिँदैन, कहिल्यै सकिँदैन,’ शालाले पहिलो रेकर्डिङमा भनेका छन् ।

‘म अहिले विमान छु र लाग्दैछ यो प्लेन टुक्रा–टुक्रा हुन लागेको छ, र कार्डिफ जाँदैछु, क्रेजी । भोलि म त्यहाँ शुरुवात गर्दैछु र साँझ नयाँ टोलीसँग प्रशिक्षणमा सहभागी हुनेछु ।’

अर्को सन्देशमा स्ट्राइकरले भनेका छन्, ‘के छ केटाहरु ? तिमीहरु सबै ठीक छौ ? यदी डेढ घण्टामा मबाट थप सन्देश पाएनौँ भने मलाई खोज्न सायद अरुहरुलाई पठाउनुपर्नेछ .... मलाई डर लागिरहेको छ ।’

शाला र पाइलटको खोजीका लागि मंगलबार शुरु गरिएको थियो । मंगलबारको खोजीकार्य स्थगन गर्नअघि गुइर्नसे प्रहरीले दुवैबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको बताएको छ ।

इंग्लिस च्यानलको आकाशबाट र जलमा गरिएको १५ घण्टाको खोजीपछि पानीमा केही तैरिरहेको वस्तुहरु देखापरेको प्रहरीले ट्वीटरमा जानकारी दिइएको छ | तर, ती वस्तुहरु विमानकै हो भनेर हामीले पुष्टि गर्न सकेका छैनौँ ।

‘यदी विमानले पानीमा अवतरण गरेको हो भने दुःखका साथ भन्नुपर्छ उनीहरुको जीवत रहने सम्भावना निकै कम रहेको छ ।’

शाला गत शनिबार मात्र लिग वान टोली नान्टेसबाट कार्डिफमा १.९ करोड पाउण्डमा अनुबन्ध भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!