चीनले अमेरिकासमक्ष गर्यो यस्तो अनुरोध

Posted on: 29 Jan, 2019

माघ १५, बेइजिङ,  | चीनको विदेश मन्त्रालयले क्यानाडामा गिरफ्तार गरिएकी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई अमेरिका सुपुर्दगी नगर्न अमेरिकी सरकार समक्ष अनुरोध गरेको छ । 

हुवावेकी मेङमाथि इरानसँग व्यापारिक कारोबार गर्दा बैंकहरुलाई झुठो विवरण दिएको अमेरिकी आरोप छ । 

विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले हुवावेकी प्रमुख वित्तीय अधिकृतमाथि अपमानजनक रुपमा अमेरिकाले आरोप लगाएको बताउनुभयो । 

मेङलाई गत वर्ष डिसेम्बर १ तारिखमा अमेरिकी अनुरोधमा क्यानाडाको भ्यानकुभरमा गिरफ्तार गरिएको थियो । मेङलाई अमेरिका सुपुर्दगी गर्ने बारेमा बुधबार क्यानाडाको एक अदालतमा सुनुवाई हुँदैछ । 

गेङले भन्नुभयो, “हामी मेङ वान्झाउमाथिको पक्राउ आदेश तत्कालै फिर्ता लिन अमेरिकासँग आग्रह गर्दछौं र त्यस्ता किसिमका सुपुर्दगी अनुरोधहरु पुनः नगर्न पनि अनुरोध गर्दछौं ।” 

साथै, चीनले हुवावे र अरु चिनीया कम्पनीमाथि निराधार आरोपहरु नलगाउन पनि वासिङ्टनलाई चेतावनी दिएको छ । चिनीया विदेश मन्त्रालयको विज्ञप्तिमा “केही चिनीया कम्पनीलाई ओझेलमा पार्न अमेरिकी अधिकारीहरुले राज्यशक्तिको परिचालन गरिरहेको” उल्लेख छ । विज्ञप्तिमा यी कार्यहरु राजनीतिक उद्देश्यबाट प्रेरित रहेको पनि उल्लेख गरिएको छ । 

विज्ञप्तिमा बेइजिङले चिनीया कम्पनीहरुको दृढतापूर्वक प्रतिरक्षा गर्ने जनाइएको छ, तर हुवावेमाथि लागेको अमेरिकी अभियोगलाई कसरी सम्बोधन गरिनेछ भन्ने उल्लेख गरिएको छैन । 

चिनीया विशाल प्रविधि तथा दूरसञ्चार कम्पनी हुवावेले भने कुनै गलत कार्य नगरेको दाबी गरिरहेको छ । हुवावेमाथि अमेरिकी प्रविधि चोरेको, इरानमाथि लागेको अमेरिकी व्यापार प्रतिबन्धलाई हुवावेले उल्लङ्घन गरेको तथा बैंकहरुलाई ढाँटेको आरोप छ । 

हुवावे टेक्नोलोजिज लिमिटेडले मङ्गलबार नै एक विज्ञप्ति जारी गरी हुवावेमाथि लागेका अभियोगका बारेमा अमेरिकी अधिकारीहरुसँग वार्ता गर्न र अनुसन्धानमा सहभागी हुन तयार रहेको जनाएको छ । हुवावेले अमेरिकी कम्पनी टी–मोबाइलसँगको गोप्य व्यापारिक योजना चोरी गरेको विषयमा अमेरिकी अदालतबाट पहिल्यै छिनोफानो भइसकेको पनि स्पष्ट गरेको छ । 

“कम्पनीलाई मेङ वान्झाउले कुनै गल्ती गर्नुभएको थाहै छैन, र अमेरिकी अदालत पनि अन्ततः त्यही निश्कर्षमा पुग्ने हाम्रो दृढ विश्वास छ,” हुवावेको विज्ञप्तिमा जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!