भेनेजुएलाः विपक्षी नेता हुवाँ गुएइदोलाई देश छाड्न प्रतिबन्ध

Posted on: 30 Jan, 2019

माघ १६, कारकास | भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता हुवाँ गुएइदोलाई देश नछाड्न मङ्गलबार आदेश दिएको छ । 

आफैँले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गर्नुभएका गुएइदोको सम्पत्ति रोक्का गर्न पनि अदालतले आदेश दिएको जनाइएको छ । 

गुएइदोका विरुद्धमा महान्यायाधीवक्ता तारेक विलियम साबको मागअनुसार अदालतले यस्तो फैसला गरेको अधिकारीहरुले बताएका छन् । 

विपक्षी नेता गुएइदोले देशको शान्ति सुव्यवस्थामा असर पारेकाले देश छाड्न नपाउने आदेश दिन महान्यायाधीवक्ताले माग गर्नुभएको थियो । 

गुएइदोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि कतिपय जनता र निकायले उहाँलाई समर्थन गरेपनि सर्वोच्च अदालतले भने उहाँको विपक्षमा मत जाहेर गरेको थियो । 

लामो राजनीतिक सङ्घर्षका कारण चरम आर्थिक सङ्कट भोगिरहेको भेनेजुएलामा पछिल्लो समय राजनीतिक द्वन्द्व थप चर्किदै गएको छ । द्वन्द्व बढेकाले पछिल्ला केही साता हिंसात्मक घटना पनि धेरै भएका छन् । 

विपक्षीहरुले बहिस्कार गरेको निर्वाचनलाई नै वैध मानेर राष्ट्रपति निकोलास मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि विवाद थप चर्किएको हो । 

निर्वाचन निस्पक्ष हुन नसक्ने भन्दै विपक्षीहरुले निर्वाचन बहिस्कार गरेका थिए । विवादित निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि उहाँले यही जनवरी १० मा शपथ ग्रहण गर्नु भएको थियो । उहाँको सपथसँगै देशभरि विरोध प्रदर्शनहरू भएका थिए । 

त्यस निर्वाचनलाई अवैध र अमान्य भनेका अमेरिका, युरोपली देशलगायतले अहिले पनि मदुरोलाई अस्वीकार गर्दै विपक्षी नेता गुएइदोको समर्थन गरेका छन् । 

चीन, रुस लगायतका देशहरुले भने निकोलासलाई नै मान्यता दिँदै विद्रोही नेता गुएइदोको विपक्षमा उभिएका छन् । 

संयुक्त राष्ट्रसङ्घका अनुसार अहिले भएका विरोध प्रदर्शनका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको छ । अरु सयौँ घाइते र पक्राउ भएका अधिकारीहरुले जनाएका छन् । 

खाद्य तथा औषधिजस्ता अत्यावश्यक वस्तुको अभाव र अत्यधिक महङ्गीका कारण लाखौँ नागरिक भेनेजुएलाबाट विस्थापित हुनेक्रम बढेको छ । 

यसैबीच, अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनीबाट तेल खरिदमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!