दिल्लीको एक होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु

Posted on: 12 Feb, 2019

माघ २९, नयाँ दिल्ली | दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटलमा मङ्गलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा परी अन्य ११ जना घाइते भएका छन् । 

करोल बाघस्थित गुरुद्वारा सडकमा रहेको अर्पित प्यालेस होटलमा मङ्गलबार विहान ४:३० बजे सो आगलागी भएको थियो । 

तत्काल बारूण यन्त्रसहित केही अग्नी नियन्त्रक त्यसतर्फ गएपनि १७ व्यक्तिलाई जोगाउन नसकिएको प्रहरी उप–आयुक्त एमएस रान्धावाले बताउनुभयो । 

विभागका प्रमुख अतुल गर्गले भन्नुभयो,“ सूचना प्राप्त भएलगत्तै उद्धार टोलीलाई विहान ४:३५ बजे त्यसतर्फ पठाइएको र उक्त टोलीले होटलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गरेको थियो । 

उद्धार टोलीले घटनास्थलबाट एउटा अस्पतालमा १३ जनाको र अर्को अस्पतालमा अन्य चार जनाको शव अन्तिम परीक्षण रिपोर्टका लागि पठाइएको छ । 

एक महिला र एक बालकले आगलागीपछि आत्तिएर भवनको झ्यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको होटलको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ । 

आगोमा जलेर घाइते भएका ११ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरी उप–आयुक्त एमएस रान्धावाले भन्नुभयो, “आगलागीबाट घाइते भएकाहरु मध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।” 

आगलागी भएको सो चार तले होटलमा ३५ कोठा थिए । सोमबार उक्त होटलमा एउटा परिवारले कार्यक्रमका लागि लिएको आफूलाई जानकारी भएको रान्धावाले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!