भेनेजुएलाका अधिकारीसँग भेटवार्ता भएको अमेरिकीद्वारा पुष्टी

Posted on: 20 Feb, 2019

फागुन ८, वासिङ्टन । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकको सुरक्षाका विषयमा भेनेजुएलाका वरिष्ट अधिकारीसँग भेटवार्ता भएको जनाएको छ । भेनेजुएलाका लागि अमेरिकी विशेष प्रतिनिधि एलिअट अब्राम्सले भेनेजुएलाका अधिकारीसँग भेटघाट गर्नुभएको हो । 

विदेश मन्त्रालयका उपप्रवक्ता रोबर्ट पालाडिनोले नियमित पत्रकार सम्मेलनमा भेनेजुएलामा रहेका अमेरिकी नागरिकको सुरक्षाका बारेमा भेटवार्ता केन्द्रित भएको बताउनुभयो । 

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले पनि आफ्ना विदेशमन्त्री जोर्ज आरेजाले अब्राम्ससँग न्यूयोर्कमा गोप्य भेटघाट गरेको बताउनुभएको थियो । न्यूयोर्क वार्तामा विदेशमन्त्री आरेजाले अमेरिकी प्रतिनिधि अब्राम्सलाई “निजी, सार्वजनिक वा गोप्य”मध्ये कुनै पनि स्वरुपमा भेनेजुएला भ्रमणका लागि निम्तो दिनुभएको पनि राष्ट्रपति मदुरोले जानकारी दिनुभयो । 

आरेजाले संयुक्तराज्य अमेरिका र भेनेजुएलाबीचको सम्बन्धका बारेमा विस्तृत विचार विमर्श गर्नुभएको थियो । 

“हामीले दुईवटा बैठक गरेका छौं तर म वार्तामा भएका कुराहरु विस्तृत रुपमा बताउन चाहन्नँ किनभने म वार्ताको गोनीयता कायम राख्न प्रतिबद्ध छु” विदशेमन्त्री आरेजाले भन्नुभयो । 

गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकास्थित फ्लोरिडा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा सम्बोधन गर्दै अमेरिकाले भेनेजुएलामा शान्तिपूर्ण रुपान्तरण चाहेको बताउनुभयो । उहाँले भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि दबाब सिर्जना गर्न शक्तिको प्रयोग गर्न पनि अमेरिका पछि नपर्ने चेतावनी दिनुभयो । 

तर अमेरिकी संसद कङ्ग्रेसको एक समितिमा अमेरिकी विशेष प्रतिनिधि अब्राम्सले भेनेजुएलामा अमेरिकाले सैनिक परिचालन नगर्ने स्पष्ट गर्नुभयो । अमेरिकी सैनिक कार्गो विमानहरुले भने भेनेजुएलाका निम्ति आपतकालीन मानवीय सहयोग सामग्री भेनेजुएलाका सीमामा पुर्याइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!