भारतमा मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुग्यो

Posted on: 24 Feb, 2019

फागुन १२, गुवाहाटी (भारत) (रासस/एएफपी) | थप ३५ भन्दा बढी मजदुरहरुको मृत्यु भएपछि भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ । 

भारतको आसाम राज्यमा भएको यस घटनामा परी बिरामी भएका दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । 

मृत्यु भएका र बिरामी भएका सबै आसामको चिया बगानमा काम गर्ने मजदूरहरू हुन् । मृत्यु हुनेक्रम गत बिहीबार देखि सुरु भएको थियो । 

स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ । 

दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको थियो । 

“पछिल्लो विवरण अनुसार गोलघाट र जोरहाटमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ,” प्रदेश प्रहरीका अतिरिक्त महानिर्देशक मुकेश अग्रवालले आइतबार पत्रकारहरुसँग भन्नुभयो । 

उहाँले घटनामा दोषी भएको आशङ्कामा दश जनालाई गिरफ्तार गरिएको र पीडितहरुले सेवन गरेको मदिराको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको पनि जानकारी दिनुभयो । 

त्यसैगरी मदिरा बिक्रीवितरण रोक्न नसकेको भन्दै दुईजना अधिकारीहरूलाई पनि निलम्बन गरिएको जनाइएको छ । 

गोलाघाट स्वास्थ्य विभागका सहनिर्देशक डा. रतुल बोरदोलोईका अनुसार पीडितहरूमा बान्ता हुने, छाती दुख्ने एवम् सास फेर्न गाह्रो हुने गम्भीर समस्यासहित अस्पताल पुगेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!