बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार

Posted on: 01 Mar, 2019

फागुन १७, वासिङ्टन । संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी कृयाकलापमा संलग्न रहेको अमेरिकी दाबी छ । 


“जिहादका युवराज” समेत भनेर चिनिने हाम्जा पाकिस्तान, अफगानिस्तान, सिरिया वा इरानमध्ये एक देशमा लुकेर बसेको अनुमान गरिएको छ ।

“हाम्जा अहिले अल–कायदा समूहका नेताका रुपमा स्थापित हुन थालेको देखिएको छ,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विदेश मन्त्रालयले हाल हाम्जा रहेको मुलुकको नाम र ठेगाना दिएमा त्यस्तो सूचना दिने व्यक्तिलाई अमेरिकाले १० लाख पुरस्कार दिने जनाएको छ । 

हाल ३० वर्षको हाराहारीका हाम्जा बिन लादेनले सन् २०११ मा गरिएको आफ्नो बुबाको हत्याको बदला लिने बताउँदै आएका छन् । सर्वाधिक खोजीमा रहेका बिन लादेनलाई अमेरिकी विशेष फौजले पाकिस्तानी शहर अबोटाबादमा हत्या गरेको थियो । 

अमेरिकी गुप्तचर निकायहरुले हाम्जामाथि निगरानी बढाएको र अमेरिकाका निम्ति सुरक्षा खतरा रहेको बताएका छन् । 

हाम्जाले सन् २०१५ मा एक अडियो सन्देश जारी गरी सिरियाका जिहादीहरुलाई एकताबद्ध हुन आग्रह गरेका थिए । आफ्ना पिताले झैं हाम्जाले पनि साउदी अरेबीयाको नेतृत्व अपदस्थ गर्नुपर्ने बताउँदै आएका छन् । 

ओसामा बिन लादेनका तीन श्रीमती र छोराछोरीलाई साउदी अरेबियामा आश्रय दिइएको छ । तर हाम्जाका बारेमा थाहा हुन सकेको छैन । रासस/एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!