हुवावेकी मेङद्वारा क्यानाडा, सीमा निकाय विरुद्ध मुद्दा दर्ता

Posted on: 04 Mar, 2019

फागुन २०, टोरन्टो (रासस/एपी) | प्रविधि क्षेत्रको अग्रणी चिनीया कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउले आफू विरुद्ध गैरकानुनी थुना, खानतलास र पुछताछ गरेको भन्दै क्यानाडा सरकार, यसको सीमा निकाय तथा राष्ट्रिय प्रहरी विरुद्ध मुद्दा दर्ता गर्नुभएको छ । 

वान्झाउका वकीलहरुले ब्रिटिस कोलम्बिया सर्वोच्च अदालतमा आफ्नो मौलिक हक सुरक्षित गरिपाऊँ भन्दै मुद्दा दर्ता गरेका छन् । अमेरिकी सरकारको अनुरोधमा क्यानडाले मेङलाई गत वर्ष डिसेम्बर १ तारिखमा पक्राउ गरेको थियो । 

हुवावेका संस्थापककी छोरी मेङमाथि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लङ्घन गरेको तथा इरानसँग व्यवसाय सञ्चालन गर्न बैंकहरुलाई गलत विवरण दिएको आरोप लागेको छ । 

पछिल्लो समय क्यानडा सरकारले मेङलाई अमेरिकी अधिकारी समक्ष सुपुर्दगी गर्न प्रक्रिया थालनी गरेको छ । मेङ हाल क्यानडामा देश छाड्न नपाउने गरी जमानतमा रिहा हुनुहुन्छ, र उहाँ क्यानडाको भ्यानकुभरमा बसिरहनुभएको छ । चीनले मेङको गिरफ्तारीलाई राजनीतिक कारण भन्दै विरोध गरिरहेको छ । 

मेङको गिरफ्तारीका विषयमा चीन र क्यानडाबीच पनि तिक्तता छाएको छ । चीनले पनि राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै क्यानडाका पूर्व कुटनीतिज्ञ माइकल कोभरिग र क्यानडाका व्यवसायी माइकल स्पाभोरलाई डिसेम्बर १० तारिखमा गिरफ्तार गरेको छ । 

गत शुक्रबार क्यानडाको न्याय विभागका अधिकारीहरुले सुपुर्दगी प्रक्रिया शुरु गर्न अनुमति दिएका थिए । सुपुर्दगी प्रक्रिया प्रारम्भ गर्न बुधबार मेङलाई अदालतमा उपस्थित गराइँदैछ । तर यो प्रक्रिया पूरा हुन महिनौं वा कहिलेकाहिँ वर्षौं लाग्न सक्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!