सिंगापुरद्वारा आफ्नो आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध

Posted on: 12 Mar, 2019

फागुन २८, सिंगापुर | सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । छ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि सिंगापुरले उक्त कदम चालेको जनाएको छ । 

यसै साता इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज इथियोपियाको राजधानी आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाबाट सबै १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो । 

इन्डोनेसियाको लायन एयरले सञ्चालन गरेको यही मोडेलको विमान गत वर्ष अक्टोबरमा उड्नासाथ इन्डोनेसियाको जाभा द्वीपमा खसेको थियो । उक्त विमानमा सवार सबै १८९ जना यात्रु र चालक दलका सदस्यहरुको घटनास्थलमै मृत्यु भएको थियो । 

सिंगापुर नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा सिंगापुरको आकाशमा बोइङ ७३७ म्याक्स मोडेलका विमानहरुमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको जनाइएको छ । 

चीन, इथियोपिया समेतका विश्वका कतिपय देशले यो मोडेलको विमानमाथि प्रतिबन्ध लगाएका छन् । विमानको पूर्ण प्राविधिक परीक्षण भएर सुरक्षित छ भन्ने विश्वास भएपछि मात्र उडान गर्नुपर्ने दबाब बोइङ कम्पनीमाथि परेको छ । 

बोइङले समेत विमानमा कुनै प्राविधिक समस्या देखिए त्यसलाई सुल्झाउन भरमग्दूर प्रयास गरिने स्पष्ट गरिसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!