माओवादीले थापेको विद्युतीय धरापमा परी कम्तिमा चार सैनिकको मृत्यु

Posted on: 04 Apr, 2019

चैत २१, एजेन्सी | भारतीय माओवादी विद्रोहीहरुले थापेको विद्युतीय धरापमा परी छत्तिसगढमा कम्तीमा चार सैनिकको मृत्यु भएको छ । 

आम निर्वाचन अन्तर्गत मतदानको दिन आउन झण्डै एक हप्ता बाँकी रहँदा माओवादीले थापेको धरापमा परी गस्तीमा रहेका सैनिकहरु मारिएका हुन् ।

छत्तिसगढ प्रदेशको कान्केर जिल्लामा पैदल गस्तीमा रहेका बेला उनीहरुमाथि आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । आक्रमणमा परी अरु छ जना घाइते भएका छन् ।  

घटना भएको ठाउँ निकै दुर्गम भएकाले थप विवरणहरु आउन बाँकी रहेको प्रदेश प्रहरी प्रमुख डि एम अवस्थीले बताउनुभयो । 

भारतमा सरकारी सुरक्षाकर्मी र माओवादी विद्रोहीहरुबीच दशकौँदेखि द्वन्द्व भइरहेको छ । यही द्वन्द्वबीच भारतमा यही अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा देशभरी आम निर्वाचन हुन लागेको छ । 

माओवादी विद्रोहीहरुले अहिले हुन लागेको निर्वाचन बहिस्कार गर्न आह्वान गरेका छन् । उनीहरुले मतदानका दिन थप हिंसा भड्किन सक्ने चेतावनी समेत दिएका छन् ।

भारतको कम्तीमा २० ओटा राज्यमा माओवादी विद्रोहीहरुको उपस्थिति रहेको विश्वास गरिन्छ । ती मध्ये छत्तिसगढ, उडिसा, बिहार, झारखण्ड र महाराष्ट्र बढी प्रभावित भएको मानिन्छ । 

विद्रोही माओवादीहरुले पछाडि पारिएको समुदाय र जमिन विहिन किसानहरुका लागि आफूहरुले विद्रोह गर्नु परेको बताउने गरेका छन् ।

सरकारी पक्ष र विद्रोही पक्षको द्वन्द्वमा परी अहिले सम्म हजारौको मृत्यु भइसकेको अधिकारीहरुले बताएका छन् ।  माओवादी विद्रोहीको बढी प्रभाव रहेको ठाउँमा सरकारले सैन्य अभियानहरु चलाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!