हनिमूनमा श्रीमानको यस्तो व्यवहार, बिहे भएको ३ हप्तामै श्रीमतीले दिइन् सम्बन्धविच्छेदको निवेदन

Posted on: 10 Apr, 2019

चैत २७, काठमाडौं | यूएईमा एक नवविवाहित महिलाले आफ्नो श्रीमानको बानीले आजित भएपछि सम्बन्धविच्छेदको निवेदन दिएकी छिन् ।

खलिज टाइम्सको रिपोर्ट अनुसार हनिमूनमा गएकी महिलाले यूएईमा आफ्ना ‘लोभी’ श्रीमानसँग सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दिएकी छिन् ।

महिलाले अबू धाबी डिपार्टमेन्ट अफ फ्यामिली अफेयर्स (पर्सनल स्टेटस) मा सम्बन्धविच्छेको निवेदन दिएकी हुन् । उनको विवाह भएको तीन हप्तामात्रै भएको छ ।

महिलाका अनुसार उनका इरानियन श्रीमानले हनिमुनमा एक दिरहाम (यूएइको मुद्रा) खर्च नगरेका कारण आफूले सम्बन्धविच्छेदको निवेदन दिनुपरेको हो ।

उनका श्रीमानले घर खर्चमा लाग्ने सबै रकम, बत्ती–पानीको बिल सबै उनलाई नै तिराउने गरेको दाबी गरिन् ।

‘उनले हाम्रो विवाहमा एक सुक्का पनि खर्च गरेनन्,’ उनले अदालतलाई भनिन् ।

सम्बन्धविच्छेद पाउन ती महिलाले आफ्नो सबै अधिकार त्याग्न तयार भएको बताइन् ।

यता महिलाभन्दा १३ वर्ष कान्छा उनका श्रीमानले भने आफ्नो नीजि कागजात सबै हराएकाले श्रीमतीलाई आफ्नो नाममा बिल भुक्तानी गर्न लगाएको बताए ।

ती महिलाले घरका लागि चाहिने दराज, खाट, सोफालगायतका सबै आवश्यक सर–सामान किनेपनि त्यसको प्रशंसा गर्नुको साटो श्रीमानले आफूलाई उपेक्षा गर्न थालेको बताइन् । उनीहरुको वैवाहिक सम्बन्धमा फाटो ल्याउने यो पनि एउटा कारण हो । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!