विश्वविद्यालयमा गोली चल्दा दुइ जनाको मृत्यु, ४ जना घाइते

Posted on: 01 May, 2019

वैशाख १८, च्यार्लाेट | संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लाेट क्याम्पसमा भएको गोली प्रहारमा परी दुई जनाको ज्यान गएको समाचार छ । 

उक्त गोली प्रहारमा अरु केही घाइते भएका बताइएको छ । मङ्गलबार सो गोलीकाण्ड भएको थियो । मङ्गलबार साँझ ७ बजेभन्दा केही अघिमात्र यस्तो गोली प्रहारको घटना भएको थियो । 

मङ्गलबार यस शैक्षिक सत्रको अन्तिम दिन थियो । त्यस दिन कलेज समापन गरी घर फर्किने तयारी गरिरहेका विद्यार्थीहरुमाथि गोली प्रहार भएको बताइएको छ ।

विद्यार्थीहरु विदा हुने बेलामा अकस्मात उक्त क्याम्पसको इमर्जेन्सी सेवाबाट लुक्नु, भाग्नु, सुरक्षित हुनु भनी माइकिङ शुरु भएको थियो । त्यसपछि कलेज परिसरमा भागाभाग भएको थियो । 

स्थानीय इमर्जेन्सी सेवाले दुई जनाको ज्यान गएको र अरु चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जनाएको छ ।

च्यार्लाेटको प्रहरी सेवाले आक्रमणकारीको पहिचान गरेको छ । सो विभागकाअनुसार गोली हान्ने व्यक्ति सो क्याम्पसको एकजना २२ वर्षीय विद्यार्थी रहेका बताइएको छ । 

उनको नाम त्रिस्तान एन्ड्रयु हुन् । आक्रमणकारीलाई प्रहरी थुनामा राखिएको छ । तर घटनाको बारेमा ती व्यक्तिले स्वीकार नगरेको पनि प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!