अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानलाई सिध्याइदिने धम्की, इरानको यस्तो चेतावनी

Posted on: 20 May, 2019

जेठ ६, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सिध्याइदिने धम्की दिएका छन् । उनले अमेरिकालाई नधम्काउन भन्दै चेतावनी समेत दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘यदि इरान लड्न चाहन्छ भने त्यो इरानको आधिकारिक अन्त हुनेछ । अमेरिकालाई कहिल्यै धम्की नदिनू ।’

ट्रम्पको यो ट्वीटलाई लिएर अमेरिका र इरानबीच युद्धको बादल मडारिन थालेको टिप्पणी हुन थालेको छ । इरान परमाणु सम्झौतालाई लिएर अमेरिका र इरानबीच केही दिनयता तनाव बढ्दै गएको छ । अमेरिकाले मध्यपूर्वमा अत्याधुनिक हतियारसहित आफ्ना सेनाको तैनाथी बढाएको छ ।


सन् २०१५ मा इरानसहित अमेरिका, चीन, रुस, ब्रिटेन, फ्रान्स र जर्मनीबीच परमाणु सम्झौता भएको थियो । यो सम्झौताको उद्देश्य इरानको परमाणु महत्वाकांक्षामा अंकुश लगाउनु थियो ।

अमेरिकाले गत वर्ष यस सम्झौता तोडेको थियो । इरानले पनि अहिले सम्झौताबाट आंशिक रुपमा अलग भएको जनाएको छ, अर्थात् सम्झौताका केही सर्त नमान्ने घोषणा गरेको छ ।

चीन, रुस, ब्रिटेन, फ्रान्स र जर्मनी भने अहिले पनि परमाणु सम्झौतामा सामेल छन् । इरानमाथि प्रतिबन्ध लगाएर ट्रम्प प्रशासनले उसको अर्थव्यवस्थामा नोक्सान पुर्‍याएको छ । इरानको मुद्राको मूल्य सबैभन्दा तल्लो स्तरमा पुगेको छ र महंगीको दर करिब चौगुणाले बढेको छ । 

त्यसैले इरानले भने आफूमाथि लगाइएका प्रतिबन्ध नहटाए फेरि युरेनियम उत्पादन र बिक्री सुरु गर्ने चेतावनी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!