राहुलको ‘ट्वीटर प्रोफाइल’ फेरियो'

Posted on: 04 Jul, 2019

असार १९, नयादिल्ली |  भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षबाट राजिनामा दिनुभएका राहुल गान्धीले आफ्नो ट्वीटर ‘प्रोफाइल’ परिवर्तन गर्नुभएको छ ।

उहाँले आफ्नो ‘ट्वीटर प्रोफाइल’मा यसअघि ‘भारतीय राष्ट्रिय काँग्रेस अध्यक्ष’ लेख्नुभएकोमा अध्यक्ष पदबाट राजिनामा दिएपछि त्यसमा संशोधन गरी बुधबारदेखि भारतीय राष्ट्रिय काँग्रेसको सदस्य लेख्नुभएको छ ।

उहाँको ट्वीटर ‘अकाउन्ट’ मा “यो राहुल गान्धीको आधिकारीक ‘अकाउण्ट’ हो, भनी लेखिएको छ । प्रोफाइलमा भारतीय राष्ट्रिय काँग्रेसको सदस्य तथा संसद सदस्य भनेर पनि लेखिएको छ ।

उहाँले केही दिनमात्र अघि पनि आफू पार्टी अध्यक्ष अब धेरै दिन नरहने बताउनु भएको थियो । उहाँले चाडै नै पार्टीले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा पनि जोड दिनुभएको थियो ।    हालै भएको लोकसभा निर्वाचनमा काँग्रेस अधिकांश ठाउँमा पराजय भएपछि उहाँले त्यतिबेलै राजिनामाको घोषणा गर्नुभएको थियो ।  

तर उहाँको राजिनामा अझै स्वीकृत भइसकेको भने छैन । कतिपय नेताहरुले उहाँलाई पार्टी अध्यक्षको जिम्मेबारी नछाड्न आग्रह पनि गर्दै आएका छन् । यता राहुलले भने आफूले राजिनामा दिए लगत्तै आफ्नो ट्वीटर अकाउन्टमा परिवर्तन गरिसरक्नु भएको छ । 

यस कारण पनि उहाँ अब पुनः अध्यक्षका रुपमा फर्किने सम्भावना कम रहेको विश्लेषकहरुको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!