अफगानिस्तान द्वन्द्वको समाधान वार्ताबाटै सम्भव : इमरान खान

Posted on: 22 Jul, 2019

साउन ६, (रासस-एएनआई)  | अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा सैनिक बलमा शान्ति कायम गर्न सम्भव नरहेको बताउनुभएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुअघि अमेरिकामा बसोबास गरिरहेका पाकिस्तानी डायस्पोरालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले अमेरिकी राष्ट्रपति ट्रम्प समक्ष पनि यही कुरा राख्ने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री खानले भन्नुभयो–“मलाई कसैले तालिबान खान पनि भने । मैले केही वर्षअघिदेखि भनेको कुरा नै विश्वले अहिले मानिरहेको छ, त्यो हो अफगानिस्तान द्वन्द्वको शान्तिपूर्ण समाधान वार्ताबाट मात्र सम्भव छ । म राष्ट्रपति ट्रम्पलाई पनि यही कुरा बताउन चाहन्छु ।”

अफगानिस्तान र पाकिस्तानमा अति सक्रिय तालिबानका प्रति नरम व्यवहार गरेको भन्दै प्रधानमन्त्री खानलाई कतिपयले “तालिबान खान”को उपमा दिने गरेका छन् । प्रधानमन्त्री खानले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सोमबार ह्वाइट हाउसमा भेट्दै हुनुहुन्छ । उहाँका साथ पाकिस्तानी सेनाप्रमुख कमार जाभेद बज्वा र गुप्तचर निकायका प्रमुख फैज हमिद पनि रहनु भएको छ । 

अफगानिस्तानमा विगत दुई दशकदेखि भिषण गृहयुद्ध जारी छ । युद्धबाट ध्वस्त भएको अफगानिस्तानमा शान्ति स्थापना गर्ने उद्देश्यले अमेरिकी नेतृत्वमा अफगानिस्तानी शान्ति प्रक्रिया प्रारम्भ भएको छ । अफगानिस्तानी शान्ति प्रक्रियामा पाकिस्तान समेत सहभागी छ ।

गल्फ न्यूजका अनुसार वासिङ्टनस्थित वान एरेना रंगशालामा प्रधानमन्त्री खानलाई स्वागत गर्न अमेरिका निवासी करिब ३० हजार पाकिस्तानी नागरिक र डायस्पोरा भेला भएका थिए । अमेरिकी–पाकिस्तानी समुदायको सबैभन्दा ठूलो भेलालाई प्रधानमन्त्री खानले पहिलो पटक सम्बोधन गर्नुभएको हो । 

यहीबीच, पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेसीले पाकिस्तानले शान्ति र स्थायित्वका लागि सबैसँग सहकार्य गर्न चाहेको बताउनुभएको छ । उहाँले आतंकवादसँग पाकिस्तानले निरन्तर जुधिरहेको पनि बताउनुभयो ।

अमेरिकाको तीन दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री खानले आइतबार विश्व बैंकका अध्यक्ष डेभिड माल्पाससँग वासिङ्टन डिसीमा भेटवार्ता गर्नुभयो । पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरेसी तथा प्रधानमन्त्री खानका बाणिज्य सल्लाहकार अब्दुल रजाक दाउद, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार अब्दुल हाफीज शेख पनि उक्त भेटवार्तामा सहभागी हुनुहुन्थ्यो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!