चार दिनसम्म ढुंगामा च्यापिएका व्यक्तिको उद्धार

Posted on: 09 Aug, 2019

साउन २४, एजेन्सी  | कम्बोडियाको एउटा गुफामा चार दिनसम्म फसेका व्यक्तिको उद्धार गरिएको छ। चमेराको विष्टा संकलन गर्न हिँडेका ती व्यक्ति चिप्लिएर दुई ठूला ढुंगाबीच च्यापिएका थिए | बिबिसीका अनुसार आइतबारदेखि गुफामा फसेका सुम बोरा घर नफर्केपछि उनका परिवारले खोजी सुरू गरेका थिए।

प्रहरीका अनुसार २८ वर्षीय सुम आफ्नो टर्च लाइट टिप्ने क्रममा ढुंगाबीच फसेका थिए। सुम खाना, पानी बिना त्यो गुफामा संघर्ष गरिरहेका थिए। सुमले भनेका छन्, 'मैले बाँच्छु भन्ने आशै गुमाइसकेको थिएँ। मसँग चक्कु थियो। मलाई आत्महत्या गरूँ झैं भएको थियो।'

सुमलाई मंगलबार उनकै साथीले फेला पारेका थिए। उनका साथी पनि कहिलेकाहीँ सुमसँग चमेराको विष्टा लिन जान्थे। कम्बोडियामा चमेराको विष्टालाई 'गुवानो' भनिन्छ र यसको प्रयोग मलका रूपमा धेरै हुन्छ। सुमका अनुसार उनका साथीले देखेपछि साँघुरो गुफाबाट घस्रिँदै उनीतिर आएका थिए। दुवै जना सानो ज्यानका भएकाले त्यहाँ छिर्न सके। पछि उद्धारकर्ताहरूले उनीहरूलाई फेला पारे। तर गुफा साँघुरो भएकाले सुमलाई निकाल्न गाह्रो भयो।

पछि गुफाका केही भागहरू भत्काएर उनलाई बाहिर निकालिएको हो। प्रहरीका अनुसार दस घन्टाको प्रयासपछि बुधबार सुमको उद्धार सफल भएको हो । अहिले स्थानीय अस्पतालमा सुमको उपचार भइरहेको छ। उनको टाउको, घुँडा र छातीमा चोट लागेको छ। सुम फसेको 'चकराइ' पहाडमा जान प्रहरीले रोक पनि लगाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!