पेट्रोल ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ६० जनाको मृत्यु

Posted on: 10 Aug, 2019

साउन २५, दार एस सलाम (रासस-सिन्ह्वा) | पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ । 

देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ । घटनास्थल राजधानी दार एस सलामदेखि २० किलोमिटर टाढा पर्दछ । 

प्रहरीका अनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र अरु ७० भन्दा बढी जलेर घाइते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ । 

“हामी एकदमै हतारमा छौँ, अहिले खोजी तथा उद्धारमा लागिरहेका छौँ,” प्रहरीले सिन्ह्वासँग टेलिफोनमा बताए  ।

उनले खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय बासिन्दा लगायत खटिएको पनि जानकारी दिएका छन् । 

घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने ती अधिकारीले अनुमान गरेका छन् । 

जलेर घाइते भएका मध्ये ३९ जनालाई थप उपचारका लागि मुहिम्बीली राष्ट्रिय अस्पतालमा लगिएको पनि उनले बताएका छन् । 

स्थानीय समय अनुसार बिहान ८ बजे दुर्घटना भएको हो । एउटा मोटर चालकलाई छलेर अगाडी बढाउन खोजीरहेका बेला ट्याङ्कर पल्टिएको हो । 

ट्याङ्कर पल्टिएपछि ट्याङ्करबाट चुहिएको तेल स्थानीय बासिन्दाले थापिरहेका बेला आगलागी भएर विस्फोट भएको र उनीहरुको मृत्यु भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!