गर्मीका कारण जापानमा २३ को मृत्यु, १३ हजार बिरामी

Posted on: 14 Aug, 2019

साउन २९, काठमाडौँ | जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ । 

सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७५१ जना अस्पतालमा भिड लागेका थिए । 

मृत्यु भएको र बिरामी भएको यो विवरण गत अगस्ट ५ देखि एक हप्तासम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन् । 

अस्पताल गएका मध्ये ४०० जनालाई भर्ना नै गर्नु परेको उनीहरुको भनाइ छ । प्रभावित भएका मध्ये सबैभन्दा धेरै टोकियोका रहेका छन् । 

अधिकारीहरुका अनुसार टोकियोका मात्रै १४ सय ६५ जना अस्पताल गएका थिए भने सैतामाका ९७७ जना बिरामी भएका थिए ।

अस्पतालमा उपचार गराउन आएका यस्ता बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी बिरामी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पताल प्रशासनले जनाएको छ ।  

जापानको मौसम विज्ञान विभागले अहिले जापानमा यो वर्षकै सबैभन्दा धेरै गर्मी भएको बुधबार जानकारी दिएको छ । 

उनीहरुका अनुसार सबैभन्दा धेरै गर्मी भएको ठाउँमा यस वर्षको सबैभन्दा धेरै तापक्रम ४०.३ सेल्सीयस पुगेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!