चन्द्रमामा अवतरण गर्नुअघि नै सम्पर्क विहीन भयो भारतको चन्द्रयान-२, चन्द्रमा पुग्ने सपना अधुरै

Posted on: 07 Sep, 2019

भदौ २१, एजेन्सी | भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्‍याउने भनेर पठाएको चन्द्रयान-२ को सम्पर्कविहीन भएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन(इसरो)का प्रमुख के सिवनले चन्द्रमाको सतहमा पुग्न २ किलोमिटर बाँकी हुँदा विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको बताए।

चन्द्रयान-२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण हुने बताइएको थियो । आफ्ना वैज्ञानिकहरूको उपलब्धी तथा उनीहरूलाई हौसला दिन इशरो पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'चन्द्रयान-२'सँग सम्पर्क टुटेपछि निराश वैज्ञानिकहरूलाई यान त्यहाँसम्म पुग्नु सानो उपलब्धि नभएकोले त्यसमा सानो मन नगर्न भन्दै उनीहरूलाई ढाडस दिएका थिए।

भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो । ४७ दिनअघि  भारतले  चेन्नईनजिकैको सिरहारीकोट अन्तरिक्ष केन्द्रबाट चन्द्रयान २ लञ्च गरेको थियो। लञ्च हुनुअघि पनि अन्तिम समयमा प्राविधिक समस्या आएको भन्दै समय सारिएको थियो।

चन्द्रयान-२ अवतरण हुने भनिएको ठाउँमा अहिलेसम्म कुनै यान पुगेका थिएनन्। पृथ्वीदेखि चन्द्रमाको दुरी ३ लाख ८४ हजार किलोमिटर छ। चन्द्रयान-२ का लागि भारतले १४.१ करोड डलर लगानी गरेको छ। यसअघि अमेरिका, रूस र चीनले मात्र चन्द्रमाको सतहमा आफ्ना यान अवतरण गराएका छन्। 

भारतले यसअघि सन् २००८ मा चन्द्रयान-१ पठाएको थियो। सतहमा अवतरण नभइकनै उक्त यानले चन्द्रमामा पानीको खोज गरेको थियो। सन् १९६० को दशकदेखि भारतले अन्तरिक्ष कार्यक्रम सुरू गरेको थियो। पछिल्लो समय प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रममा विशेष जोड दिएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!