साउदीको तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणका कारण तेलको मूल्य बढ्यो

Posted on: 16 Sep, 2019

भदौ ३०, काठमाडौं | साउदी अरबको सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । साथै विश्वभर तेल आपूर्ति पाँच प्रतिशतले घटेको छ । साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार हुथी विद्रोहीहरुले गरेको आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेलले कमी आएको छ ।

यो परिमाण साउदी अरबले गर्ने कुल तेल उत्पादनको झन्डै आधा हो | उत्पादन कटौती भएसँगै ब्रेन्ट कच्चा तेलको मूल्य १९ प्रतिशतले र बेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को कच्चा तेलको मूल्य १५ प्रतिशतले बढेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरणको अनुमति दिएपछि बढेको मूल्य केही घटेको बताइएको छ ।

साउदी अरब संसारको सबैभन्दा ठूलो तेल निर्यातकर्ता मुलुक हो । उसले दैनिक ७० लाख ब्यारलभन्दा बढी तेल निर्यात गर्दछ । साउदी अरबले पूर्ववत रुपमा तेल उत्पादन गर्न र निर्यात गर्न हप्तौं लाग्नसक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । तेल उत्पादन र निर्यात सामान्य अवस्थामा नफर्किए नेपाल पनि प्रभावित हुन्छ ।

शनिबार साउदी अरबका अब्काइक र कुरिस प्रशोधन केन्द्रमा ड्रोन आक्रमणका कारण आगलागी भएको थियो । अब्काइक संसारकै सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र हो । आक्रमणको जिम्मा हुथी विद्रोहीले लिएको छ । विद्रोही समूहका एक प्रवक्ताले आक्रमणमा १० वटा ड्रोन प्रयोग गरिएको बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!