चिनियाँ राष्ट्रपति सी जिपिङद्वारा विश्वकै ठूलो विमानस्थलको समुद्घाटन

Posted on: 25 Sep, 2019

असोज ८, एजेन्सी | चिनियाँ राष्ट्रपति सी जिपिङले दासिङ अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् | चीनको राजधानी बेइजिङदेखि दक्षिणमा निर्माण भएको चीनको नयाँ प्रवेशद्वारको उनले उद्घाटन गरेका हुन् । 

४५ महिना लगाएर ८० अर्ब युआन (११.२ अर्ब अमेरिकी डलर) लागतमा निर्माण गरिएको दासिङ अन्तर्राष्ट्रिय विमानस्थल भएर १० करोड यात्रुहरुको आवतजावत हुने अपेक्षा गरिएको छ । दासिङ अन्तर्राष्ट्रिय विमानस्थल आधिकारिक रूपमा सञ्चालन आएसँगै बेजिङको उड्डयनमा दुईवटा ‘हब’को युग सुरु भएको विमानस्थलले जनाएको छ । 

नयाँ  विमानस्थल सञ्चालन भएसँगै बेइजिङ र उत्तरी चीनको तियानजिन महानगरका दुई सहरका तीनवटा विमानस्थल भएर करोडौँ यात्रुहरु आवतजावत  हुनु चीनको नागरिक उड्डयन उद्योगका लागि ऐतिहासिक भएको अधिकारीहरुले जनाएका छन् । 

चीनको साउथर्न एयरलाइनको ए ३८०, चीनको इस्टर्न एयरलाइनको ए ३५० र एयर चाइना बोइङ ७४७–८ सहित  कूलमा सातवटा ‘स्टार’ हवाईजहाहरु  बुधबार दिउँसो त्यहाँ पठाइनेछ । त्यहाँ १६ वटा हवाई कम्पनीहरु दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा रहने छन् । १५ वटा अन्तर्राष्ट्रिय र १०१ आन्तरिकसहित ११६ हवाई मार्ग खुला गरिनेछ । विमानस्थलमा चारवटा धावनमार्ग, १५० वटा हवाइजहाजका लागि अवरण गर्ने स्थान र ७ हजार वर्गमिटरका टर्मिनल भवन रहेका छन् । प्रत्येक वर्ष १३ करोड यात्रुहरुको आवतजावत हुनेछ ।

दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुले सुरक्षा जाँचका समयमा बोर्डिङ पास देखाउनुपर्ने छैन, सबै चेकजाँच र सुरक्षाका लागि नयाँ फेसियल रिकग्निसन सिस्टम (अनुहार हेरेर पहिचान गर्ने नयाँ प्रणाली)ले गर्नेछ । नयाँ विमानस्थलमा चीनको इस्टर्न एयरलाइन्सले २०० ठूला र मध्यम आकारका हवाइजहाजहरु मार्फत अमेरिका, युरोप, ओसिनियाँ, साउथ इस्ट एसिया, जापान र दक्षिण कोरियासँगै चीनको हङकङ, मकाउ र ताइवानलाई चिनियाँ केन्द्रसँग जोड्नेछ ।

चीनको नागरिक उड्डयन प्रशासनका अनुसार साधारणतया चीनको मुख्य सहरहरुमा ठूला विमानस्थहरु चरम विन्दुमा पुगेका छन् । सन् २०१८ मा चीनको नागरिक विमानस्थलमा कूल एक अर्ब २६ करोड यात्रुहरु पुगेका र विगत १० वर्षमा ११ प्रतिशतको औषत वार्षिक यात्रुहरु वृद्धि भएका छन् । 

सन् २०१८ को अन्त्यमा चीनसँग २३५ वटा नागरिक विमानस्थलहरु छन् । यसमध्ये ३७ वटासँग वार्षिक रूपमा कम्तीमा एक करोड यात्रुहरु हुने गरेको छ । यीमध्ये १० वटासँग ३ करोड यात्रुहरु रहने गरेको छ । अहिले चीन विश्वकै दोस्रो ठूलो उडड्यन बजार हो । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनका अनुसार सन् २०२५ तिर चीनको उड्डयन बजार विश्वकै सबैभन्दा ठूलो हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!