इन्डोनेसियाली मन्त्रीमाथि आतंकवादी आक्रमण

Posted on: 10 Oct, 2019

असोज २३, जकार्ता (रासस-एएफपी) | आतंकवादी संगठन इस्लामिक स्टेटको सञ्जालमा आबद्ध दुई व्यक्तिले इन्डोनेसियाका सुरक्षा मन्त्री विरान्तोलाई बिहीबार छुरा प्रहार गरेको गुप्तचर निकायले जनाएको छ । 

इन्डोनेसियाली राजनीतिमा निकै शक्तिशाली मानिएका विरान्तोलाई तत्कालै जकार्तास्थित अस्पतालमा भर्ना गरेर आपतकालीन उपचार गरिएको छ । 

स्थानीय टेलिभिजनले प्रसार गरिरहेका दृश्यहरुमा सुरक्षाकर्मीले जाभा द्वीपको पान्डेग्लाङमा दुई जनालाई पक्राउ गरिरहेको देखाएका छन् । विरान्तोलाई यही स्थानमा आक्रमण गरिएको थियो । आफ्नो सवारी साधनबाट ओर्लनासाथ स्थानीय मानिससँग भेटघाट गर्नेक्रममा उहाँमाथि आक्रमण भएको थियो । 

शंकास्पद व्यक्तिहरुमा ३१ वर्षीय स्याहरिल अलाम्साह र २१ वर्षीया फित्री एन्ड्रीयाना रहेका छन् । उनीहरु विवाहित दम्पती हुन् । 


उनीहरु इन्डोनेसियाका प्रतिबन्धित जमाह अन्सारुत डउलाह (जेएडी) का सदस्यहरु रहेको गुप्तचर निकायका प्रमुख बुडी गुनावानले बताउनुभयो । यो समूहले गत वर्ष इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायाका इसाई गिर्जाघरहरुमा आत्मघाती आक्रमण गरेको थियो । 

छुरा प्रहार भएलगत्तै ७२ वर्षीय विरान्तोलाई हेलिकप्टरमा राखेर राजधानी जकार्तास्थित अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार उहाँमाथि यसअघि पनि दुई पटक असफल हत्या प्रयास गरिएको थियो । 

इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले विरान्तोको शल्यक्रिया गरिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आतंकवाद र कट्टरपन्थी विचारधारालाई हामी सबैले मिलेर परास्त गर्नुको विकल्प छैन ।” 

विरान्तोसँगै एक जना स्थानीय प्रहरी प्रमुख र उहाँका दुई जना सहयोगीमाथि पनि छुरा प्रहार भएको थियो । तर उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!