इरानमा युक्रेनी विमान खसाल्ने पक्राउ

Posted on: 14 Jan, 2020

पुस २९, एजेन्सी | १ सय ७६ जना यात्रु बोकेको युक्रेनी विमान खसालेको आरोपमा इरानले धेरै मानिसलाई पक्राउ गरेको छ | इरानको न्यायलयका अनुसार मिसाइल प्रहार गरी युक्रेनी विमान खसालेको आरोपमा धेरैलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ  | तर, नियन्त्रणमा लिइएका व्यक्तिको संख्या भने खुलाइएको छैन | 

न्यायलयका प्रवक्ता घोलामहोसेन इस्माइलीले सञ्‍चारकर्मीसँग भने, "विमान खसालेको विषयमा अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।" उनले यस विषयमा थप विवरणहरु भने खुलाएनन् । 

इरानका राष्ट्रपति हसन रुहानीले यस विषयको छानबिन विशेष अदालतद्वारा निरीक्षण गरिने बताएका छन् । उनले यस दुखद घटनाको दोष मिसाइल प्रहारका लागि ट्रिगर दबाउने एकजनालाई मात्र लगाउन नहुनेतर्फ जोड दिएका छन् । "इरानी सेनाले भूलवश भएको गल्तीलाई स्वीकार गर्नु राम्रो कदम हो," उनले भने, "हामीले आगामी दिनमा यस्तो किसिमको घटना नहोस् भन्‍ने विश्वास दिलाउन सक्नुपर्छ ।" 

पीएस ७५२ कलसाइनको युक्रनी अन्तर्राष्ट्रिय एयरलाइन्सको विमान जनवरी ८ मा इरानमा दुर्घटना भएको थियो । उक्त दुर्घटना १७६ जनाको मृत्यु भएको थियो । जसमा इरानी र क्यानेडियन नागरिक बढी थिए ।

दुर्घटनाको सुरुका तीन दिन भने इरानले विमान खसालेको आरोप अस्वीकार गरेको थियो । तर, तीन दिनपछि भने प्राविधिक असफलताका कारण भएको मिसाइल प्रहारमा विमान खसेको इरानी सेनाले स्वीकार गरेको हो |-बीबीसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!