कोरोना भाइरसका कारण सडकमै भेटिन थाल्यो चिनियाँको शव

Posted on: 31 Jan, 2020

माघ १७, एजेन्सी | चिनमा कोरोना भाइरसको कारण  मर्नेको शव सडकमै भेटिन थालेको छ | कोरोनाभाइरस फैलिएको वुहान सहरका सडकमै मानिसको शव भेटिन थालेको हो | 

वुहानको सडकमा कोरोना संक्रमणकै कारण मृत्यु भएको आशंका गरिएका एक व्यक्तिको शव बिहीबार भेटिएको एएफपीले जनाएको छ | मृत फेला परेका मानिसको हातमा प्लास्टिकको झोला छ | मृतकको उमेर करिब ६० वर्ष जस्तो देखिने पनि एएफपीले जनाएको छ। ती व्यक्तिको मृत्यु कोरोनाभाइसरकै कारण भएको हुन सक्ने आशंका गरिएको छ |

चिनियाँ अधिकारीहरूले उक्त सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको बताउँदै गर्दा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोरोनाभाइरसका कारण विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरिसकेको छ | विश्व स्वास्थ्य सङ्गठनले कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरूमा यो भाइरस फैलिन सक्ने त्रास रहेको बताएका छन् | बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स गालाहरका अनुसार अहिले ९९ प्रतिशत सङ्क्रमणका घटना चीनभित्र नै पाइएको र चीनले तिनलाई नियन्त्रण गर्नेमा डब्ल्यूएचओ विश्वस्त रहेको पाइएको छ |

तर कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकमा फैलिएमा अवस्था बदलिन सक्छ | त्यसैले उनी भन्छन्, "पछिल्लो घोषणापछि डब्ल्यूएचओले निम्न तथा मध्यम आय भएका मुलुकहरूमा सङ्क्रमणको निरीक्षण र नियन्त्रणमा उसले सघाउन सक्नेछ।"

यो घोषणाको अर्थ अब सबै देशलाई सङ्क्रमण फैलिन रोक्न कडिकडाउ नियन्त्रणका उपाय अपनाउन आह्वान गरिएको जस्तै हो | डब्ल्यूएचओले चीनले अपनाएका उपायको प्रशंसा गर्दै उसले सङ्क्रमण नियन्त्रण गर्न असाधारण उपाय अपनाइरहेको बताएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!