ढाकामा चरमपन्थी आक्रमणः बन्धक बनाइएका १७ विदेशीसहित २० को हत्या

Posted on: 03 Jul, 2016

असार १८, काठमाडौं । बंगलादेशको सबैभन्दा सुरक्षित मानिएको गुलशन इलाकामा चरमपन्थी आक्रमण भएको छ । जुन घटनामा १७ विदेशीसहित २० जना मारिएका छन् ।

ढाकाको गुलशन इलाकामा रहेको अर्टिशन बेकसरी क्याफेमा बन्दुकधारीले शुक्रबार साँझ आक्रमण गरेका थिए । ७-८ जनाको समूहमा रहेका उनीहरुले क्याफेमा रहेकाहरुलाई बन्धक बनाए । जसमध्ये २० जनाको विभत्स तरिकाले हत्या भएको छ । बंगलादेशको सेनाका प्रवक्ताले बताए अनुसार अधिकांशलाई धारिलो हतियारले रेटेर हत्या गरिएको पाइएको छ ।

मारिनेमा नौ इटालियन नागरिक छन् । सात जापानी, तीन बंगलादेशी र एक भारतीय नागरिक भएको खुलेको छ । एक सिनियर कूटनीतिज्ञले मारिनेहरुको राष्ट्रियता खुलाएको बंगलादेशको न्यूज पोर्टल द डेलीस्टारले जनाएको छ ।

६ आक्रमणकारी पनि मारिए, एक पक्राउ 

१२ घन्टा लामो रेस्क्यु अपरेशन शनिबार सकिएको छ । त्यस क्रममा ६ आक्रमणकारी मारिएका छन् भने एकलाई जीवितै पक्राउ गरिएको सरकारका एक प्रवक्ताले बताए । 

क्याफेमा बन्दक बनाइएका १३ जनाको भने उद्दार गरिएको छ, जसमा एक जापानी र दुई श्रीलंकन नागरिक छन् । 

नेपाली सुरक्षित

घटनास्थलबाट नेपाली दूताबास करिव एक किलोमिटर मात्र टाढा छ । ढाकास्थित कार्यबाहक नेपाली राजदूत सुशीलकुमार लम्साले बंगलादेशमा रहेका नेपालीहरु सुरक्षित रहेको बताए ।

घटनाले दिएको सन्देश

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले टेलिभिजनमार्फत सम्बोधन गर्दै आक्रमणको भत्र्सना गरेकी छन् । ‘यो एकदमै घृषित कार्य हो । कस्ता मुसलमान हुन उनीहरु ? उनीहरुको कुनै धर्म छैन’ उनले भनेकी छन्, ‘आतंकवादीहरुको विरोध गर्नुपर्छ । सरकार आतंकवाद र विद्रोहीहरुलाई जरैदेखि समाप्त पार्न दृढ छ ।’

उनले दुर्इ दिनसम्म राष्ट्रिय शोकको घोषणा पनि गरेकी छन् ।

शुक्रबार अबेर राति भएको गोली हानाहानमा दुई प्रहरकिो मृत्यु भएको थियो भने ३० अधिकारी घाइते भएका थिए ।

घटनाको इस्लामिक स्टेटले जिम्मा लिएको छ । उक्त समूहको समाचार एजेन्सी कमाकमा प्रकाशित वक्तव्यमा लडाकूहरुले प्राय विदेशी गइरहने रेष्टुराँमा आक्रमण गरेको उल्लेख छ ।

बंगलादेशमा पछिल्लो केही महिना यता धर्मनिरपेक्ष ब्लयर, समलिंगी अधिकारवादी र केही प्राज्ञ एव धार्मिक अल्पसंख्यकको हत्या हुने गरेको थियो । तर, गुलशनमा भएको आक्रमणमा बंगलादेशमा पहिलो चरमपन्थी आक्रमणका रुपमा लिइएको छ ।

यो घटनाबाट चरमपन्थीहरुले उनीहरु कुनै पनि ठाउँमा आक्रमण गर्न सक्छन् भन्ने सन्देश दिएको छ । किनकी बंगलादेशमा गुलशन इलाकाभन्दा सुरक्षित स्थान अर्को नभएको मानिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!