बिल गेट्सलाई चिनियाँ राष्ट्रपतिको पत्र, के लेखिएको छ पत्रमा ?

Posted on: 22 Feb, 2020

फागुन १०, बेइजिङ (रासस-एएफपी) | चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भन्दै विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पत्र पठाउनु भएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको थियो ।

महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्व अनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए ।

कोविड–१९ नाम दिइएको यस महामारीका कारण अहिलेसम्म २ हजार ३४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजारभन्दा बढी प्रभावित भएका छन् । यसको सङ्क्रमण विश्वका २५ देशमा देखिएको छ ।  

राष्ट्रपति चिनफिङले लेख्नु भएको छ, “तपाईको सहयोगको प्रतिबद्धतालाई मैले गहिरोसँग मनन गरेको छु, अति महत्वपूर्ण र संवेदनशील क्षणमा चिनियाँ नागरिकप्रति तपाईहरुले देखाउनु भएको सहानुभूति र ऐक्यबद्धता प्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।” 

उहाँले चीन अहिले महामारी विरुद्ध लडिरहेकाले संकटपूर्ण अवस्थामा रहेको पनि पत्रमा उल्लेख गर्नुभएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!