कुवेतले गर्यो दुई साता अन्तर्राष्ट्रिय उडान बन्द,कामदारलाई पनि बिदा

Posted on: 12 Mar, 2020

फागुन २९, काठमाडौँ | विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९)का कारण त्रास बढेको छ | उक्त भाइरसबाट बच्न सम्पूर्ण देशहरुले आवश्यक उच्च सतर्कता अपनाई रहेका छन् | त्यस्तै खाडीमुलुक कुवेतले पनि दुई साताका लागि अन्तर्राष्ट्रिय सम्पूर्ण उडान बन्द गरेको छ |

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुवेतले दुई साताका लागि हवाइ उडान बन्द गर्नेसँगै देशमा कार्यरत कामदारहरूलाई समेत दुई साता बिदा दिने निर्णय पनि गरेको हो | आजबाट लागु हुने उक्त निर्णय  मार्च २६ सम्मका लागि कार्यान्वयनमा रहने बताइएको छ |

यो निर्णय कार्गो विमान र विदेशबाट उद्धार गरेर कुवेती नागरिक ल्याउने विमानको हकमा भने लागु नहुने कुवेती सरकारका प्रवक्ताले बताएका छन् | योसँगै कुवेतले बजार, क्याफे तथा हेल्थ क्लबमा हुने जमघटमा समेत रोक लगाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!