अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्,'मेरालागि अमेरिकी जनताको जीवनभन्दा महत्वपूर्ण अरु केही छैन’

Posted on: 12 Mar, 2020

फागुन २९, एजेन्सी | अमेरिकाले कोरोनाभाइरस (काेभिड–१९) को सङ्क्रमण  फैलिन नदिनकालागि युरोपेली देशहरुबाट हुने उडान तथा यात्रामा प्रतिबन्ध लगाएको छ | उक्त प्रतिबन्ध बेलायतमा भने लागु नहुने  ट्रम्पले बताएका छन् |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार देखि लागु हुने गरी युरोप–अमेरिका यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् | कोरोनाभाइरसका कारण अमेरिकामा हाल सम्म ३८ जनाको ज्यान गएको छ भने एक हजार तीन सय २२ जनामा सङ्क्रमण देखा परेको छ |

त्यस्तै बेलायतमा चार सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने आठ जनाले ज्यान गएको छ | राष्ट्रपति ट्रम्पले बुधबार सम्बोधन गर्दै कोरोना भाइरस विश्वभरको दुस्मन भएको बताएका छन् |

नयाँ सङ्क्रमण रोक्नकै लागि युरोपसँगको यात्रामा प्रतिबन्ध लगाउनु परेको ट्रम्पले बताएका छन् | 

उनले अमेरिकी जनताको स्वास्थ्य भन्दा आफ्नोलागी अरु केहि ठुलो नभएको बताएका छन् | ट्रम्पले भनेका छन्, ‘हाम्रो शत्रु समान छ, वास्तवमा कोरोना भाइरस पूरै विश्वको शत्रु हो । हामी यसबाट छिटोभन्दा छिटो सुरक्षित रहनुपर्छ । मेरालागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’

युरोपको इटली, फ्रान्स, स्पेन, जर्मनी, स्वीजरल्याण्ड, नर्वेलगायतका देशमा कोरोनाको सङ्क्रमण बढ्दै गएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!