कोभिड–१९ बाट विश्वभर ३१ हजार ९२० को मृत्यु, संक्रमित संख्या ६ लाख ८० हजार बढी

Posted on: 29 Mar, 2020

चैत १६, काठमाडौँ | कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजार ९२० भन्दा बढी नागरिकको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ८० हजार ६९६ पुगेको छ । 

प्राप्त विवरण अनुसार इटालीमा हालसम्म १० हजार २३ जनाको मृत्यु भएको छ । केही दिनयता यहाँ ज्यान गुमाउनेको संख्या बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिएको छ । इटालीमा हालसम्म ९२ हजार ४७२ नागरिकमा कोविड–१९ को संक्रमण देखिइसकेको छ । 

त्यसैगरी स्पेनमा ज्यान गुमाउने नागरिकको संख्या ६ हजार ५२८ जना पुगेको छ । स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछिको दोस्रो हो ।  

यता संयुक्तराज्य अमेरिकामा विश्वमै सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देश बनेको छ । यहाँ अहिलेसम्म १ लाख २३ हजार ७८१ जना सङ्क्रमित भएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या २ हजार २२९ जना पुगिसकेको छ । यो सङ्ख्या विशेषगरी अमेरिकी राज्य न्यूयोर्कमा बढी देखिएको छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । 

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३०० जनाको मृत्यु भएको छ भने त्यहाँ ८१ हजार ४३९ जना सङ्क्रमित रहेका छन् । 

इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार ६४० जनाको मृत्यु भएको छ । हाल ३८ हजार ३०९ जना सङ्क्रमित रहेका छन् । 

युरोपेली अन्य मुलुकहरुमा पनि कोरोनाभाइरसको संक्रमण बढ्दै जानुका साथै मृतकको संख्या पनि बढेको छ । आवतजावत र अत्यावश्यक बाहेक अरु बेला नागरिकलाई घरबाहिर निस्कन हतोत्साहित गरेको भए पनि भूसको आगोजसरी कोरोना भाइरसले युरोपेली मुलुकहरुलाई आक्रान्त बनाएको छ । 

यसैगरी यस सङ्क्रमणबाट अष्ट्रिया, नर्वे, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!