अर्को हप्ता हाम्रा लागि अझै चुनौती छ – ट्रम्प

Posted on: 05 Apr, 2020

चैत २३, वासिङ्टन डिसी (रासस-एएनआई) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताउनु भएको छ ।

अमेरिकामा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो दुई हप्तामा अझ धेरै अमेरिकी नागरिकको मृत्यु हुने सम्भावना रहेको उहाँले शनिबार बताउनु भएको हो । 

पछिल्लो विवरणमा अमेरिकामा कोरोनाभाइरसका कारण तीन लाखभन्दा बढी नागरिक संक्रमित भइसकेका छन् । 

ह्वाइट हाउसमा गठन गरिएको कोरोनाभाइरस नियन्त्रण कार्यदलको बैठकपछि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा मानवीय क्षतिको अनुमान गर्न निकै कठिन रहेको बताउनुभयो । 

स्थानीय समय अनुसार शनिबारसम्म अमेरिकामा आठ हजार २९१ जनाको मृत्यु भइसकेको विवरण कार्यदलको बैठकमा पेस गरिएको थियो । सो विवरण जोन्स हप्किन्स विश्वविद्यालयको विवरण हो ।  

राष्ट्रपति ट्रम्पले जरुरी स्वास्थ्य उपकरण उत्पादनमा रहेको एकाधिकार तोड्न डिफेन्स प्रोडक्सन एक्ट (डिपिए)मा हस्ताक्षर गर्नु परेको पनि बताउनुभयो । यो जारी भएसँगै अन्य कम्पनीहरुले पनि चिकित्सा सामग्री उत्पादन गर्न पाउने र बजारमा अत्यावश्यक स्वास्थ्य सामग्री सर्वसुलभ हुने अमेरिकी सरकारको विश्वास छ । 

कार्यदलकी सदस्य डा म्यारी इ. बर्चले पनि राष्ट्रपति ट्रम्पले भनेझैं आगामी दुई हप्तामा कोरोनाका कारण अमेरिकामा ठूलै स्वास्थ्य चुनौती देखिने बताउनुभयो । 

उहाँले क्षति न्यूनीकरण गर्नका लागि जस्ले जहाँबाट जे जे सकिन्छ, त्यही त्यही गर्नुपर्ने समय आएको पनि बताउनुभयो । 

अमेरिकामा पछिल्लो २४ घण्टामा २३ हजार ९४९ जना नयाँ संक्रमित भेटिएका छन् भने एक हजार २३ जनाको मृत्यु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!