कोरोना भाइरस: विश्वभरि मृत्यु हुनेको सङ्ख्या एक लाख नाघ्यो

Posted on: 10 Apr, 2020

चैत २८, काठमाडौँ | कोरोनाभाइरसका कारण विश्वभरि मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या एक लाख नाघेको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट मृत्यु हुनेको शंख्या १ लाख २६० जना पुगेको छ । 

विश्वभरि सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या भने १६ लाख ४७ हजार नाघेको छ । डाटा अनुसार मृत्यु हुनेहरुको शंख्या इटलीमा सबैभन्दा बढी छन् । इटालीमा १८ हजार ८४९ जनाको मृत्यु भई सकेको छ । जसलाई पछ्याएको अमेरिकाको मृत्युको शंख्या १७ हजार ९१९ पुगेको छ । 

तर सङ्क्रमणको हिसाबले अमेरिका तालिकामा सबैभन्दा अगाडि छ, जहाँ चार लाख ७८ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण भएको पाइएको छ।

तेस्रो बढी मृत्युको घटना स्पेनमा भएको छ, जहाँ १५ हजार ९७० जनाले ज्यान गुमाएका छन्।

त्यहाँ कोरोनाभाइरसबाट सङ्क्रमित मानिसहरूको सङ्ख्या एक लाख ५७ हजार बढी छ । त्यसपछि फ्रान्समा धेरै मानिसको मृत्यु भएको छ। फ्रान्समा १२ हजार २१० जनाको मृत्यु भएको छ भने करिब एक लाख १९ हजार व्यक्तिमा सङ्क्रमण भएको पाइएको छ।

मृतकको हिसाबले यूके पाँचौँ स्थानमा छ, जहाँ करिब ९ हजार मानिसको मृत्यु भएको छ । सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या करिब ७० हजार नाघेको छ ।

यता नेपालको छिमेकी राष्ट्र भारतमा सङ्क्रमित हुनेहरूको सङ्ख्या करिब सात हजार तीन सय नाघेको छ भने २२९ जनाको मृत्यु भएको छ । 

नेपालमा भने हालसम्म कोरोनाको कारण कसैको मृत्यु भएको छैन । ९ जना संक्रमित मध्ये १ जना निको भईसकेका छन् भने बाँकी आठ संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!