चीनले भाइरस फैलाएको बारे खोजी गर्दै अमेरिका, ट्रम्पद्वारा चीनलाई चेतावनी

Posted on: 19 Apr, 2020

वैशाख ७, काठमाडौँ (एजेन्सीको सहयोगमा) | अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले चीनले कोरोना भाइरसको महामारी फैलाएको पाइए त्यसको परिणाम भोग्ने चेतावनी दिएका छन् । 

ट्रम्पले आफ्नो नियमित ब्रिफिङमा शनिबार चीनलाई चेतावनी दिंदै भनेका छन् - 'यदी त्यो गल्ती थियो, त्यो गल्ती हो । तर, उनीहरू यसबारेमा जानकार थिए भने त्यसको परिणाम भोग्नुपर्नेछ ।' ट्रम्पले आफ्नो ब्रिफिङमा अमेरिका चीनविरुद्ध के कदम चाल्छ भन्ने कुरा भने भनेनन् । 

यसअघि बेलायतले पनि चीनले कोरोना भाइरससम्बन्धी 'कडा प्रश्नहरूको सामना गर्नुपर्ने' बताएको थियो । कोरोनाको संक्रमण अमेरिका लगायत युरोपमा महामारीको रुपमा फैलिएपछि चीन विरुद्ध बिभिन्न टिप्पणीहरु भईरहेका छन् । 

ट्रम्प र वरिष्ठ सहयोगीहरूले चीन कोरोना भाइरसका बारेमा पारदर्शी नभएको भन्दै आलोचना गर्दै आइरहेका छन् । यसै साता ट्रम्पले विश्व स्वास्थ्य संगठन चीनको पक्षपाती भएको भन्दै उसलाई दिने अमेरिकी सहयोग समेत रोकेका छन् । विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले सबैभन्दा धेरै सहयोग गर्दै आएको थियो । 

ट्रम्पले सुरुमा कोरोना भाइरसमा चीनले गरेको नियन्त्रण प्रयासको खुलेर  तारिफ गरेका थिए तर पछि उनी र उनका सहयोगीहरूले यसलाई 'चिनियाँ भाइरस'को उपनाम दिएर विवाद निम्त्याएका थिए । त्यसपछि चीनप्रति नरम बनेका ट्रम्पले पुन: चीनलाई चेतावनी दिएका हुन् । दुबै देशबिच गत वर्ष केही समय चलेको व्यापारयुद्धपछि कृषि व्यापारका बारेको भएको पहिलो चरणको सहमतिलाई उल्लेख गर्दै ट्रम्पले 'उनीहरूले यस्तो गर्दासम्म' चीन-अमेरिका सम्बन्ध राम्रो भएको बताए ।

उनले कोरोना भाइरसको महामारी 'भुलवश' नियन्त्रण बाहिर गएको थियो वा जानाजान गरिएको थियो' भन्ने अहिलेको प्रश्न रहेको भनाइ राखेका छन् । 'यी दुईबिच ठूलो अन्तर छ', ट्रम्पले भने।

ट्रम्पले वुहान भाइरोलोजी प्रयोगशालाका बारेमा यसैसातामा अमेरिकी टेलिभिजन  फक्स न्यूजले देखाएको रिपोर्टलाई उल्लेख गर्दै यस्तो बताएका हुन् । फक्सले यसै साता चीनले भाइरसको क्षमता र त्यससँग लड्नसक्ने आफ्नो क्षमता परीक्षण गर्न भाइरस फैलाएको रिपोर्ट प्रसारण गरेको थियो ।  

ट्रम्पले आफ्नो सरकारले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको हो की होइन भन्ने बारेमा खोजी गरिरहेको बताए । शनिबारको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले पुनः भाइरसका कारण चीनमा भएको मृत्युमाथि उसले शुक्रबार पेस गरेको नयाँ तथ्यांकमा पनि शंका व्यक्त गरेका छन् ।

शुक्रबार चीनले वुहानको मध्यशहरमा १३ सय मानिसहरू कोरोनाबाट मरेको जानकारी दिएको छ । उसले वुहानमा मरेका यी मानिसहरू पहिलो नगनिएको बताएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!