कोरोना अपडेटः अमेरिकामा मृत्युदर घटेन, मृतकको संख्या ३९ हजार

Posted on: 19 Apr, 2020

वैशाख ७, जेनेभा (रासस/एपी/एएनआई) | महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट संयुक्तराज्य अमेरिकामा मात्र मृत्यु हुने व्यक्तिको संख्या ३९ हजार नाघेको छ । 

जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरण अनुसार आइतबार मध्यान्हसम्ममा अमेरिकामा ३९ हजार १५ जनाको मृत्यु भएको छ भने ७ लाख ३९ हजारभन्दा बढी संक्रमित भएका छन् । 

अमेरिकाका सबैजसो राज्यमा लकडाउन र सामाजिक दूरीका कडा नियमहरु लागू गरिए पनि संक्रमितको संख्यामा अझै कमी आएको छैन । देशका कतिपय राज्य र शहरमा मानिसहरु लकडाउन हटाउन माग गर्दै प्रदर्शनमा समेत उत्रिएका छन् । 

मानिसहरु सडकमा उत्रिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पुनः खुला गर्न विभिन्न निर्देशिकाहरु राज्यका गभर्नरलाई सुझाए पनि लकडाउन खोल्ने बारेमा स्पष्ट भइसकेको छैन । 

अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्क शहरमा नर्सिङ होममा आश्रित ज्येष्ठ नागरिकको ठूलो संख्यामा मृत्यु भएको छ । क्लालिफोर्निया शहरमा राज्य सरकारले कोरोना संक्रमित तर हाल घरबारबिहीन व्यक्तिका लागि १५ हजार होटल कक्षहरुको व्यवस्था गरिएको गभर्नर ग्याभिव न्यूसमले बताउनु भएको छ । 

इन्डियानापोलिसमा गभर्नर एरिक होल्कोम्बको सरकारी आवास बाहिर २०० भन्दा बढी व्यक्ति भेला भएर लकडाउन खोल्न माग गर्दै प्रदर्शन गरेका छन् । यस्तै टेक्सास राज्यको अस्टिनमा पनि घरभित्र बस्न दिइएको आदेशको विरोधमा प्रदर्शनहरु भएका छन् ।

अमेरिकामा लकडाउन अन्त्य गर्न प्रदर्शन भइरहे पनि कोरोनासँग संघर्षरत युरोपेली मुलुकहरुमा कतै लकडाउन र आपतकालको अवधि बढाइएको छ भने डेनमार्क, स्वीडेन जस्ता केही मुलुकले प्राथमिक विद्यालयहरु खोलेका छन् । 

कोरोनाभाइरसका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटलीमा रहेको छ । पछिल्लो विवरण अनुसार इटलीमा २३ हजार २२७ जनाको मृत्यु भएको छ भने तेस्रो स्थानमा रहेको स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ६३९ जना रहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!