पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

Posted on: 21 May, 2020

जेठ ८, इस्लामावाद (रासस/पीटीआई) | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण पाकिस्तानमा गत २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् । 

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै दुई हजार १९३ जना सङ्क्रमित भएका हुन् ।

योसँगै देशभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार ९१ पुगेको पनि अधिकारीहरुले बताएका छन् । 

उनीहरुले अहिलेसम्म कोरोनाका कारण एक हजार १७ जनाको मृत्यु भएको र ती मध्ये ३२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि जानकारी दिएका छन् ।

देशभरी अहिलेसम्म एकैदिनमा सवैभन्दा धेरै परीक्षण पनि बुधबार नै गरिएको छ । बुधबार मात्रै १५ हजार ३४६ जनाको कोरोनाभाइरस परीक्षण गरिएको स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।

उनीहरुका अनुसार अहिलेसम्म देशभरी कुल चार लाख २९ हजार छ सय भन्दा बढीको परीक्षण गरिएको छ ।


सङ्क्रमित मध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तमा रहेका छन् । सिन्ध प्रान्तमा मात्रै १८ हजार ९६४ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । 

त्यसपछि दोस्रो धेरै सङ्क्रमित रहेको पन्जावमा छ हजार ८१५ जना, तेस्रो धेरै रहेको खैबर पख्तुन्खवामा ६ हजार ८१५ जना र बालुचिस्तानमा दुई हजार ९६८ जना सङ्क्रमित भएका छन् । 

त्यसैगरी केन्द्रीय राजधानी रहेको इस्लामावादमा एक हजार २३५ जना, गिल्गित बालोचिस्तानमा ५७९ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा १४८ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

देशभरी कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये अहिलेसम्म १४ हजार १५५ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!