अब चीनमा कोरोना संक्रमित भई उपचाररत ७९ जना मात्र

Posted on: 23 May, 2020

जेठ १०, काठमाडौँ | कोरोना संक्रमणको उद्गम देश चीनमा कोरोना संक्रमितको संख्या अपत्यारिलो तरिकाले घट्दै अब सक्रिय संक्रमितको शंख्या ७९ मा झरेको छ । हिजो शुक्रबार चीनमा पहिलो पटक कुनै संक्रमित फेला परेनन् । गत वर्ष ऊहानबाट महामारी सुरु भए यता चीनमा थप नयाँ संक्रमित फेला नपरेको यो पहिलो अवसर हो । 

राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले शनिबार एक वक्तव्य जारी गर्दै बिहीबार ४ नयाँ संक्रमित भेटिए पनि शुक्रबार कुनै पनि नयाँ संक्रमित फेला नपरेको जनाएको छ । यद्यपि, दुई शंकास्पद केसहरु भने फेला परेका छन् । यसमा एक सांघाईमा बाहिरबाट आएका र उत्तरपूर्वी जिलिन प्रान्तमा स्थानीय स्तरमा सम्भावित संक्रमित रहेका छन् ।

लक्षण नभएकाहरु पनि अघिल्लो दिनको तुलनामा ३५ बाट २८ मा झरेको एनएचसीले जनाएको छ ।

गत मार्च यता चीनमा कोरोनाभाइरस संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ । देशभर लागू गरिएको लकडाउनले चीनलाई भाइरसको संक्रमण नियन्त्रण गर्न सहज बनेको थियो ।

तर, पछिल्लो समय बाहिरबाट आएकाहरुमा भने चीनमा संक्रमण देखिएको छ । त्यस्तै, उत्तरपूर्वी जिलिन र हिइलोङजियाङ नयाँ क्लस्टरहरु फेला परेका थिए ।

हालसम्म चीनमा भाइरसको संक्रमणबाट ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै कुल ८२ हजार ८९२ कुल संक्रमित रहेको चीनमा ७८ हजार २५८ जना निको भईसकेका छन् । हाल चीनमा कोरोना संक्रमित अवस्थामा रहेका जम्मा ७९ जना रहेका छन् । जसमा ९ जना गम्भीर अवस्थामा छन् । 

चीनमा अबको केहि दिनमै कोरोना संक्रमित शुन्यमा झार्ने अधिकारीहरुले दावी गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!