प्रवासीको पीडामा सरकारले ध्यान नदिएको सोनिया गान्धीको भनाइ

Posted on: 28 May, 2020

जेठ १५, नयाँ दिल्ली | रासस/एएनआई | केन्द्र सरकारले प्रवासीहरूको अवस्थालाई ध्यान नदिएको आरोप लगाउँदै कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको उक्त समुदायको समस्याप्रति सम्वेदनशील बन्न भारतीय काङ्ग्रेसका अन्तरिम अध्यक्ष सोनिया गान्धीले बिहीबार माग गर्नुभएको छ ।

राहतको आवश्यक पर्ने परिवारलाई तत्काल प्रति परिवार १० हजार भारतीय रूपैँया उपलब्ध गराउन र आगामी छ महिनासम्म प्रति परिवार सात हजार ५०० रूपैँयाका दरले सहयोग राशीको व्यवस्था गर्न आग्रह काङ्ग्रेस नेतृ गान्धीले गर्नुभएको छ ।

भारतीय काङ्ग्रेसले सञ्चालन गरेको ’स्पिक अप इण्डिया’ अभियानको सन्दर्भमा जारी एक भिडियो सन्देशमा उहाँले भन्नुभयो, “काङ्ग्रेसले भारतको आवाज उठाउन यो सामाजिक अभियान गर्ने निर्णय गरिसकेको छ । हामी फेरि केन्द्रीय (संघीय) सरकारलाई खाँचोमा परेकालाई उपलब्ध गराउने गरी कोष खुला गर्न र राहत प्रदान गर्न आग्रह गर्दछौं ।”

उहाँले भन्नुभयो, सरकारले राहतको आवश्यकता भएका प्रत्येक परिवारलाई छ महिनासम्म सात हजार ५०० राहतस्वरूप उपलब्ध गराउन आग्रह गर्दछु र प्रारम्भिक राहतका लागि १० हजार रुपैयाँ तुरून्त दिनुपर्छ ।”

“प्रवासी मजदुरहरूको सुरक्षित र निःशुल्क यात्राको लागि व्यवस्था गर्न, उनीहरूलाई आवश्यकता अनुसार घरमा पुर्याउन दैनिक खानाको अभाव हुन नदिन र खाद्यान्न सहयोगको प्रबन्ध सरकारले गरोस्,” उहाँले भन्नुभयो ।

महात्मा गान्धी राष्ट्रिय ग्रामिण रोजगार सुनिश्चित ऐन २००५ ले व्यवस्था गरे अनुरूप गाउँमै २०० दिन काम गर्ने अवसरको सुनिश्चित गर्न काङ्ग्रेस अध्यक्ष गान्धी सरकारसँग माग गर्नुभएको छ । साना उद्योगहरूलाई कर्जाको सट्टामा आर्थिक सहयोग गरी करोडौँ रोजगारीका अवसर सुरक्षित गरी राज्यलाई पनि विकासको गतिबाट पछि हट्न नपर्ने अवस्थाको वातावरणको प्रत्याभूत गर्न उहाँले जोड दिनुभएको छ ।

यो सङ्कटको घडीमा हामी सबै नागरिकसँगै अघि बढ्ने र यो कठिन अवस्थाबाट विजय प्राप्त हुनेमा उहाँको विश्वास रहेको छ ।

।  

विगत दुई महिनादेखि देशका सबै नागरिक तथा संघसंस्थाहरूले कोभिड–१९ को महामारीको कारण कामबाट अलग्गिनु परेकोले मुलुकले चरम आर्थिक सङ्कटको सामना झेलिरहेको उहाँले बताउनुभएको छ । 

गान्धीले भन्नुभयो, “भारत स्वतन्त्र भएपछि पहिलो पटक सबैले लाखौं मजदुरहरूको पीडा भोग्नुपर्यो । उनीहरूले सयौं हजार किलोमिटरसम्मको यात्रा भोकभोकै खालि खुट्टा, भोको पेट, औषधी र साधनविना हिंड्न बाध्य भए । देशभरका हरेक हृदयले तिनीहरूको दुःख र पीडा देखेका छन् तर सरकारले यसलाई महशुस नगरेजस्तो देखिएको छ ।” 

उहाँले सरकारको आलोचना गर्दै थप्नुभयो, “महामारीका कारण लाखौंले रोजगार गुमाए, लाखौं व्यवसाय प्रभावित भए, कारखानाहरू बन्द भए, किसानहरूले आफुले लगाएको बाली बेच्न पाएनन् । उनीहरूका सपना खेतबारीमा नै बिलिन हुनपुगे । सारा देशले दुःख भोग्यो । तर सायद सरकारले यो महसुस गर्न सकेको छैन ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!