दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोनाको लक्षण, अस्वस्थ भएपछि भोलि परीक्षण गरिने

Posted on: 08 Jun, 2020

जेठ २६, नयाँ दिल्ली (रासस/एएनआई) | भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ हुनुभएको छ । 

ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरु उहाँलाई देखिएको केजरीवाल निकटस्थ स्रोतले जानकारी दिएका छन् ।  

कोरोनाभाइरसको सङ्क्रमण हुँदा देखिने लक्षणसँग मिल्दो जुल्दो लक्षणहरु देखिएपछि उहाँ सोमबारदेखि आफ्नै निवासमा छुट्टै बस्न थाल्नुभएको छ ।

उहाँको भोली मङ्गलबार कोरोना परीक्षण गरिने तयारी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

आइतबार दिउसोदेखि उहाँले आफ्ना सबै बैठक तथा भेटघाटहरुलाई स्थगित गर्नुभएको जनाइएको छ ।  

आम आद्मी पार्टीका नेतासमेत रहनुभएका ५१ बर्षीय केजरीवाललाई कोरोनाभाइरसका विरामीलाई देखिनेजस्तै लक्षण देखिएको र मङ्गलबार परीक्षण गर्ने तयारी भएको पार्टीका अर्का नेता तथा राज्य सभा सदस्य सन्जय सिंहले जानकारी दिनुभयो । 


“दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाललाई आइतबार दिउसोदेखि ज्वरो र घाटी दुख्ने लगायतका लक्षणहरु देखिएको छ, चिकित्सकहरुले कसैसँग सम्सर्गमा नरहने गरी अलग्गै बस्न सुझाव दिएका छन्,” सिंहले भन्नुभयो । 

मुख्यमन्त्री केजरीवाललाई चाडै निको होस् भनेर आफुले कामना गरेको र कोरोनाभाइरस नलागेको विश्वास व्यक्त गर्नुभयो ।

उहाँ छुट्टै बस्न थालेर भेटघाट तथा बैठकहरु स्थगित गरेपनि दिल्ली सरकारको काम कारबाहीमा कुनै असर नपर्ने समेत सिंहले दावी गर्नुभयो । 

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अहिलेसम्म २८ हजार ९३६ जना सङ्क्रमित भएका छन् भने कोरोनाका कारण दिल्लीमा मात्रै ८१२ जनाको मृत्यु तथ्याङ्क राज्य सरकारको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!