कतार एयरवेजले ४ देशसँग माग्यो ५ बिलियन डलर क्षतिपूर्ति

Posted on: 24 Jul, 2020

साउन ९, काठमाडौं । कतारको राष्ट्रिय ध्वजावाहक हवाई कम्पनी कतार एयरवेजले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनले आफ्ना एयरस्पेसबाट प्रतिबन्ध लगाएकाले यी देशहरुबाट क्षतिपूर्ति स्वरुप न्यूनतम ५ बिलियन डलर माग गरेको छ ।

कतार एयरवेजलाई यी चार राष्ट्रले सन् २०१७ देखि आफ्ना एयरस्पेसबाट प्रतिबन्ध लगाएको थियो । कतारले आतंकवादलाई समर्थन गरेको आरोप लगाउँदै यी चार राष्ट्रले कतारसँगको सम्झौता तोडेका थिए । तर दोहाले आफ्नो स्वाधिनतामा धावा बोल्ने उद्देश्यले प्रतिबन्ध लगाइएको भन्दै यो आरोपको खण्डन गर्दै आइरहेको छ ।

कतार एयरवेजले पनि यो प्रतिबन्ध आफूलाई लक्षित गरेर लागू गरिएको र यी चार देशमा कम्पनीको सञ्चालन बन्द गर्न, लगानीलाई विफल पार्नका साथै कम्पनीको वैश्विक सञ्चालन सिध्याउने उद्देश्यका साथ गरिएको जनाएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै अरब लगानी सम्झौतासहित तीनवटा सम्झौताअन्तर्गत चारवटा लगानी मध्यस्थताबाट आफूलाई पर्न गएको नोक्सानी दाबी गरेको छ । कतार एयरवेजका कार्यकारी प्रमुख अकबर अल बकरले यो संकट हल गर्न गरेको तीन वर्षभन्दा लामो छलफलबाट कुनै पनि परिणाम ननिस्किएपछि आफ्नो अधिकार रक्षा गर्न र पूर्ण क्षतिपूर्ति दाबी गर्न कानुनी बाटो रोजेको बताउँछन् । कतार एयरवेजको आफ्नो सीमित एयरस्पेस भएको र चार राष्ट्रले प्रतिबन्ध लगाएकाले उडानका लागि कम्पनी इरानमा निर्भर रहँदै आइरहेको छ । यो विवादको कानुनी लडाइँमा गत साता देशहरुबीचको समस्या सुल्झाउने संयुक्त राष्ट्रसंघको सर्वाेच्च अदालतले कतारको पक्ष लिएको थियो । एजेन्सी


यस बिषयमा तपाइको प्रतिक्रिया...!